तेक्वान्दो संघमा प्रकाश शम्शेर राणाको निरन्तरता

पोखरा, असोज १६ गते । नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।


यसैगरी उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन भए । उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र राई सर्वसम्मत भएका हुन् । यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबी सर्वसम्मत रुपमा चयन भए ।यसैगरी सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिस खड्का सर्वसम्मत रुपमा चुनिए ।

चौथो अधिवेशनको उद्घाटन संघीय सांसद प्रमोद यादवले गरेका थिए । उनले तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएको बताउँदै राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी संघीय सांसद इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश शिवाकोटी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले चौथो अधिवेशन सफलता र नयाँ पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्र सम्मानित गरिएको थियो ।

अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने थियो । अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिए । उनले देशका विभिन्न पालिकाहरुमा तेक्वान्दो विकास समिति गठनको काम पनि निरन्तर रुपमा भइरहेको बताए ।

२०३९ सालमा नेपाल मार्सल आर्ट्स संघअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै संघका नाममा स्थापित भएको हो । लामो समय तदर्थ रुपमा सञ्चालन हुँदै आएको संघको २०६६ मा वीरगञ्जमा पहिलो पटक लोकतान्त्रिक विधिबाट पदाधिकारी चयन गरिएको थियो । यसैगरी संघको २०७० मा दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...