चितवन, मङ्सिर १० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । आज नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ ।नारायणी नदी किनारमा बनाइएको भव्य सजावटसहितको मञ्च बनाइएको छ उद्घाटनस्थलको सजावट, मञ्च निर्माण, बन्दशत्र हल, प्रतिनिधिको आवास, स्वास्थ्य, सुरक्षालगायत व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।
उद्घाटन सभामा चितवनलगायत देशका विभिन्न भागबाट पाँच लाखभन्दा बढीको मानवसागर उर्लने दाबी एमालेले गरेको छ । पश्चिमतर्फबाट हुने सहभागीलाई लक्षित गरी नारायणी नदीको गैँडाकोटतर्फ पनि डिजिटल बोर्ड राखी कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने छ । त्यस्तै नारायणगढका विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण अवलोकनका लागि ठूलाठूला डिजिटल बोर्ड राखिएको छ ।
महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसङ्गठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र पाँच प्रतिशत मनोनीत (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेतासमेत पर्यवेक्षकका रूपमा सहभागी हुने जनाइएको छ ।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ दलित प्रतिनिधि रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।एमाले १०औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा जनताका झुपडीदेखि सहरका भव्य पे्रक्षालयसम्म आफ्नो महाधिवेशन गरिसकेको छ । २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठले स्थापना गर्नुभएको पार्टीको मूलधारका रूपमा एमालेले आफूलाई व्याख्या गर्दै आएको छ । २०१० साल माघ १० देखि २० गतेसम्म पाटनको ललितपुर र काठमाडौँमा नेकपाको प्रथम महाधिवेशन भएको थियो । जुन महाधिवेशनले मनमोहन अधिकारीलाई महामन्त्रीमा चुनेको थियो ।
त्यस्तै २०१४ साल जेठ १५ देखि २५ गतेसम्म दरबारमार्गस्थित फोहरा दरबारमा नेकपाको दोस्रो महाधिवेशन भयो । त्यस्तै २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म तेस्रो, २०४६ भदौ ९ देखि १४ गतेसम्म, सिरहाको विष्णुपुरकट्टी र सर्रे अम्बासमा तत्कालीन मालेको चौथो महाधिवेशन भयो । जुन सम्मेलनबाट मदनकुमार भण्डारी महासचिवका रूपमा उदाउनुभयो । त्यस्तै २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँमा पाँचौँ, २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा छैटौँ, २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सातौँ, २०६५ फागुन ५ देखि १४ गतेसम्म बुटवलमा आठौँ र २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डपमा नवौँ महाधिवेशन भएका थिए ।