पोखरा, मंसिर १० गते ।युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो । समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी थिए ।
विभिन्न संघ, संस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका पत्रकार बास्तोला राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । युआरएलको ८ औं वार्षिकोत्सवमा मंसिर २३ मा हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।
स्वास्थ्य प्रयोगशालामा प्रदेशको अगुवाइ गरेको युआरएलले स्वास्थ्य सचेतनामा योगदान दिन पुरस्कार स्थापना र सञ्चालन गरेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।