पोखरा, माघ १९ गते । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागनु ७ गते हुने भएको छ । म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमि निर्धारित समयमै सञ्चालन गर्ने र १० किमि दौड, ५ किमि दौड र अपाङ्गतर्फका सम्पूर्ण दौड चैत्र १२ गते आयोजना गरिने भएको छ । पोखरा म्याराथनको आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चको बैठकले कोभिड १९ लाई मध्यनजर गर्दै प्रतियोगितालाई दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बैठकको निर्णय बारे जानकारी दिंदै फागुन ७ गते खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन सञ्चालन गरीने र छ उनले भने–“अहिले हामीले धेरै भिड नहोस भन्ने सतर्कता अपनाउँदै प्रतियोगितालाई दुई भागमा विभाजित गरेका छौं ।”“स्वास्थ्यको लागि पोखराका लागि” भन्ने उद्धेश्यका साथ आयोजना हुदैं आएको पोखरा म्याराथन देशकै जेठो म्याराथन रहेको बताउँदै अध्यक्ष पराजुलीले म्याराथन सफल बनाउन विषयगत समितीहरुले आफ्ना समिती अन्तर्गतका कार्यहरुलाई तिव्रता दिएको उल्लेख गरे ।
उनले पोखरा म्याराथनलाई सफल बनाउन विभिन्न टोल विकास संस्था, आमा समुह र अन्य संघ संस्थाहरुलाई सदा झैं सहयोगका लागि आग्रह समेत गरे । “यो समग्र पोखरेलीहरुको म्याराथन हो । हामी यसलाई विशेष पर्वको रुपमा १६ वर्ष देखि निरन्तरता दिएका छौं । हामी सम्पूर्ण पोखरेलीहरुलाई सदाझैं सहयोगका लागि आग्रह गर्दछौं”, उनले भने ।
पोखरा म्याराथन अन्तर्गत म्याराथनको विजेताले ४ लाख नगद प्राप्त गर्ने छन् । म्याराथनमा केन्या लगायत अन्य अफ्रिकी मुलुकबाट धावकहरु पोखरा आउने तयारी गरिरहेको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताए ।“पोखरा म्याराथनले अव विश्वव्यापी रुपमा चर्चा पाउन थालेको छ विदेशबाट समेत धावकहरु पोखरा म्याराथनका लागि आउनु गौरवको विषय हो”, उनले भने । यस संगै नेपाली धावकहरुले समेत म्याराथनका लागि दर्ता प्रक्रिया अनलाइन मार्फत गरिरहेको उनले जानकारी दिए ।