एमाले घरदैलोमा पुगी सक्दा गठबन्धनका उम्मेदवार अन्योलमा

म्याग्दी — प्रतिस्पर्धी एमाले घरदैलोमा पुगी सक्दा गठबन्धनको दबाबले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट विभिन्न पदमा मनोनयन गरेका उम्मेदवार अन्योलमा भने परेका छन् ।

छुट्टाछुट्टै मनोनयन दर्ता गरेका उम्मेदवारहरु उम्मेदवारी फिर्ता गर्ने लिस्टमा परिएला भन्ने पीरमा छन् । बेनी नगरपालिकाको उपप्रमुख, मालिका गाउँपालिकाका प्रमुख र उपप्रमुख र घुगंगाका उपप्रमुख तथा केही वडाध्यक्षका उम्मेदवारमध्य केहीले नाम फिर्ता गर्नुपर्ने हुन सक्छ ।

बेनी नगरपालिकामा कांग्रेसले उपमेयर उम्मेदवार अमृतदेवी बानियाँको नाम फिर्ता लिएर माओवादी केन्द्रकी ज्योति लामिछानेलाई र रघुगंगामा पनि कांग्रेसकी प्रेमकुमारी पुनको नाम फिर्तागरी माओवादी केन्द्रकै रीम कटुवाललाई सर्मथन गर्न गठबन्धनमा दबाब छ ।

जिल्लाका सबै पालिकाको प्रमुख, उपप्रमुखमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले पनि अन्य सबै छोडेर बेनी नगरपालिको उपप्रमुखमा मुना बानियाँलाई टिकट दिन चर्को दबाब दिइरहेको छ । जिल्लामा कांग्रेसले भाउ नदिएपछि माओवादी केन्द्र र समाजवादीले केन्द्रीय नेतृत्वमार्फत जिल्लामा कांग्रेसलाई गठबन्धन गर्न दबाब दिइरहेका छन् ।

‘मतदाताको दैलोमा जाऊँ, भोलि नाम फिर्ता गर्नुपरे के गर्ने, नजाऊँ प्रतिस्पर्धी एमालेका उम्मेदवार मतदाताको घरदैलोमा पुगीसके,’ समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले भने, ‘उम्मेदवार नै अन्योलमा रहँदा मतदाताको घरदैलोमा पुग्न र व्यवस्थापनमा ढिलाइ भएको छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...