धुलिखेल नगरपालिकाले वृक्षरोपण अभियान सुरुआत गरेको छ । शून्य कार्वन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्वन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत नगरले पहिलो चरणमा तीन वडा २, ३ र ११ मा १५ हजार फलफूलका बिरुवा रोपण गरेको हो । रोपिएका सबै बिरुवामा जिपीएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । “अब रोपिएका बिरुवामा सबै बिरुवामा जिपीएस जोडिएको छ, यसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ”, नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो ।
रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । उहाँले वृक्षरोपणसँग शून्य कार्वन उत्सर्जन गर्ने खालका उद्योगमात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू–भागको ४० प्रतिशतसम्म पु¥याउने योजना बनाइएको बताउनुभयो ।
नगरप्रमुख ब्याञ्जूका अनुसार नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन नगरले निर्माण गरेको छ । सोही ऐनअनुसार नगरलाई शून्य कार्वन उत्सर्जन नगर बनाइएको जनाइएको छ । नगरले हाल ६१ प्रतिशत फोहर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको छ । दिसाजन्य फोहरबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरले जनाएको छ । साथै टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरूपमा हुर्कँदा आठ हजार टन कार्वन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्वन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरूपमा हुर्किए ४० हजार टन कार्वन न्यूनीकरण हुने बताइन्छ । १२ वडा रहेको धुलिखेलका क्रमशः अभियानलाई योजनाबद्ध तवरले निरन्तरता दिइने जनाइएको छ ।
गत असार तेस्रो साता संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कमा नगरप्रमुख ब्याञ्जूले धुलिखेल दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धताबमोजिम १७ लक्ष्यका चार विकास लक्ष्य शून्य गरिबी, सुस्वास्थ्य, गुणस्तरीय शिक्षा तथा सफा पिउने पानी पूरा गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नगरले सार्वजनिक गरेको “स्वेच्छिक समीक्षा प्रतिवेदन’ मा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ ।
साथै निर्वाचित जनप्रतिनिधिले नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयको घरमा खानेपानी (एक घर–एक धारा) पु¥याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलोपटक ‘स्वस्थ सहर’ कार्यक्रम गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
“अबको केही महिनामा ९९ प्रतिशत जनताको घर–घरमा स्वच्छ खानेपानी पुग्नेछ भने केही वर्षभित्र औसत गरिबीको सङ्ख्या शून्यमा पु¥याउने लक्ष्य नगरले लिएको छ”, नगर प्रमुख ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयमा ‘एमजिएमल’ विधि, अङ्ग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माणलगायतका कार्य गरेको छ ।
दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो, जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ ।
यसैबीच नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ । सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।
धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्वन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।