‘पहिरो जाँदा राहत ल्याएको याद छ, भोट सूर्यमै दिन्छु’

पोखरा,१६ कार्तिक ।एमालेबाट कास्की ३ का प्रतिनिधिसभा उम्मेद्वार दामोदर पौडेल बैरागी र कास्की ३ (२) का उम्मेद्वार राजीव पहारी भोट माग्न पुग्दा कास्की नौडाँडाकी मोती परियार घरकै पिँढीमा थिइन् । दुवैले मोती परियारसँग भोट मागे ।


६० वर्षीय मोतीको घरमा पहिरोले क्षति पुगेको थियो । त्यतिबेला तत्कालीन प्रदेश सांसद पहारी खाद्यान्न र पाल लिएर मोतीको घर पुगेका थिए । मोतीले भोट माग्न आएका पहारीलाई चिनिहालिन् ।आफूलाई दुःख पर्दा राहत लिएर आएको पार्टीका उम्मेद्वारलाई भोट दिने भन्दै मोतीले ढुक्क भएर जान आग्रह गरिन् । ‘पहिला पहिरो जाँदा राहत लिएर आउनुभएको याद छ । भोट सूर्यमै दिन्छु,’ मोतीले उम्मेद्वारसँग आग्रह गरिन्, ‘जितेपछि मेरो घरको आँगन कसरी हुन्छ बनाइदिनु प¥यो ।’

अन्नपूर्ण गाउँपालिका पाउँदुर कोटकी ७८ वर्षीय देवीकुमारी गुरुङको उम्मेद्वार बैरागी र पहारीसँग बाटोमै भेट भयो । उनले आफूले सधैँ एमालेलाई भोट हालेको र यसपटक पनि दिने बताइन् । ‘भत्ता दिने पार्टी हो भन्ने थाहा छ । कहिले यता, कहिले उता गर्ने मान्छे होइन । सधैँ एमालेलाई नै भोट हालेकी छु,’ उनले भनिन् ।

एमाले उम्मेद्वारद्वय बैरागी र पहारीले जनताका समस्या सुन्ने र त्यसलाई समाधान गर्ने वाचासहित आफ्नो चुनावी घरदैलो अभियानलाई जारी राखेका छन् । उनीहरू कास्कीको अन्नपूर्ण गाउँपालिका १, २ र ३ का बस्ती–बस्ती पुगेका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटासहित स्थानीय नेता–कार्यकर्ता उम्मेद्वारसँगै घरदैलोमा थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...