पोखरा, २० कात्तिक । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२/०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ ।
काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥याउन गठबन्धन कै सरकार आवश्यक भएकाले आफूहरूलाई निर्वाचित गराउन उनको आग्रह थियो । ‘कम्युनिस्ट र काँग्रेस महत्त्वपूर्ण घडीमा मिलेका छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि काँग्रेस र कम्युनिस्ट मिलेर ल्याएका हौँ, उनले भने, संविधानले धेरै व्यवस्था तथा अधिकारहरू ल्याएको भए पनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यस्तै भू–उपयोग नीति सम्बन्धी ऐन बनाउन मेरो जोड हुनेछ र समग्र देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’
पोखरा २० लामिडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले विदेश र स्वदेश कै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरूलाई गाउँमै फर्केर केही गर्ने वातावरण बनाउने बताए । आफूहरू विकासका लागि प्रतिबद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको खानेपानीको मुख्य समस्या हल गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए । वडा नम्बर २०को लामिडाँडा र अन्य क्षेत्र पशुपालन, कफी र कृषि भूमि रहेकाले सबै क्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरूलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामीण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ ।
क्षेत्र २ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । गठबन्धनबाट उम्मेदवार बनेका थापाले युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए । ‘भलाम कृषि र पर्यटनको सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि उत्तिकै सम्भावना रहेको छ । यहाँको खेतबारी बाँझो भएका छन् घरहरू खाली भएका छन् । युवालाई स्वदेश मै राख्नका लागि योजनाहरू ल्याउन आवश्यक छ, उनले भने, विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रित भएको अवस्थामा गाउँ फर्क अभियान सुरु गर्नु पर्ने आवश्यकता अहिले छ ।’
कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताए । पोखरा २१ दम्सादीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उम्मेदवार लामिछानेले विगतमा यहाँबाट नेतृत्व गर्नेहरूले जनताको एजेन्डामा चासो नदिएको कारण राम्रो विकास हुन नसकेको दाबी गरे । ‘हामी स्पष्ट भिजन सहितका जनताको भावना अनुरूपको योजना लिएर आएका छौँ । विगतमा जितेर गएकाहरूले जनताका एजेन्डामा चासो राखेनन् । यहाँका जनताको भावना बुझेनन् । त्यहिभएर यहाँको उचित विकास हुन सकेन । हामी यहाँहरू कै एजेन्डालाई बोकेर हिँडेका छौँ । हामीसँग स्पष्ट विकास निर्माणका योजना छन् । हामी गफ दिने होइन जे बोल्छौँ, त्यो गरेर देखाउँछौँ ।’ पोखरा महानगरमा गठबन्धनको नेतृत्व रहेको भन्दै उनले प्रदेश र केन्द्रमा समेत गठबन्धन कै सरकार हुँदा काम गर्न सजिलो हुने उनको धारणा छ ।
उनीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारहरुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
सम्बन्धित खवर
टिप्पणिहरु