पोखरामा भोली नेपथ्यको प्रस्तुती

पोखरापुस ११/अमृत गुरुङ लगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइतबार बेलुकी पोखरा आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई आइतबारै पोखराका मेयर धनराज आचार्यले स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिती थियो ।

यसपटकको दौडाहा अन्तर्गत नेपथ्यले  बिराटनगरवीरगन्जहेटौंडाचितवननेपालगंजधनगढीवीरेन्द्रनगर सुर्खेत र बुटवलमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।

 

पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत गृहमैदान पोखरामा नवौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस १२ गते मंगलबार बेलुकी ४ बजे स्थानीय नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा हुनेछ ।

 

पोखरामा यसअघि नेपथ्यले संस्थागत रुपमै आठपटक आफूलाई प्रस्तुत गरिसकेको छ । राजधानी काठमाडौं उपत्यकापछि सबैभन्दा बढी उसले आफूलाई यो भूमीमै उभ्याएको छ । यसपटक भने यो नवौं कन्सर्ट हुनेछ ।ब्याण्डले सबैभन्दा बढी ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर पाँच पटक आफूलाई यहाँ प्रस्तुत गरेको छ भने यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत यो पहिलो कन्सर्ट हुनेछ ।

 

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्दैहिँडेको हो । यस क्रममा नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।

 

मंगलबारको प्रस्तुतीका लागि प्रदर्शनी केन्द्र मैदानमा मञ्च बनाउने काम धमाधम सुरुभइसकेको छ । सोमबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।

 

पोखराबाटै उदाएको नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमको गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले भने,  ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ 


तिमिल्सिनाका अनुसार पोखरा कन्सर्टका टिकटहरु धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । 
मानवसेवा आश्रमले सोमबार विहान साढे आठबजे आश्रमको भवन निर्माण स्थल हेम्जा –२५ बाबियातरामा नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गरेको छ ।

 

यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै पोखरामा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरि यसबाट बेसहाराहरुको खानानाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...