पाेखरा, पुस १७ गते ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई पोखरा महानगरपालिकाले नागरिक अभिनन्दन सहित रथारोहण गरेको छ । पोखराको अमरसिंहचौरदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पाठकलाई हजारौँ पोखरेलीहरूको सहभागितामा रथारोहण गरिएको हो । रथाराेहण अधि पाठकलाई पाेखरा महानगरका मेयर धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सम्मानपत्र, दाेसल्ला र अविर लगायर अभिनन्दन गरे ।
वि.स २०२९ देखी २०३४ सम्म अञ्चलाधीश रहेका पाठकले पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर पोखरा १४ मा जग्गा अधिग्रहण गर्नुभएको थियो । जग्गा अधिग्रहणको ४७ वर्ष पछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमान निर्माण सम्पन्न भएको छ।
तोकिएको समयावधि भन्दा अगावै सम्पन्न भएको उक्त विमानस्थल नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यससँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ।