पोखरा, माघ २० गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुलाई जनसंख्याको गन्तिमा मात्रै सिमित नगरी जनशक्तिमा बदल्नुपर्नेमा जोड दिनुभएको छ । आधा आकाश ढाकेका महिलाहरुलाई सधै जनसंख्याका रुपमा गन्ति गर्ने अवस्थाको अन्त्य गर्दै विकासमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं १९ वडा स्तरीय महिला सञ्जालले आयोजना गरेको महिलाहरुको क्षमता अभिबृद्धि तालिमको समापन कार्यक्र्रममा बोल्दै उहाँले महिलाहरुको अवस्थामा विगतको भन्दा परिर्वतन भएपनि अपेक्षाकृत हुन नसकेको बताउनुभयो । उहाँले महिलाहरु सामाजिक, राजनीतिक रुपमा स्थापित हुनका लागि आर्थिक रुपमा सक्ष र अधिकारका बारेमा जानकार हुनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख गुरुङले महिलाहरु चुलोचौकोमा मात्रै सिमित नभई अब सामाजिक क्षेत्रमा अगाडी बढनुपर्ने उल्लेख गर्नुभयो ।“अव महिला घरभित्रको चुलोचौकोबाट बाहिर निस्कनुपर्छ ।”
कार्यक्रममा पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नम्बर १९ का सदस्यहरु बिकास कुमार आचार्य, दुर्गादेबी बस्नेत,कल्पना सुनार, नेकपा एमाले वडा कमिटि अध्यक्ष बिष्णु गौतम, नेपाली काँग्रेस वडा सभापति विष्णु बास्तोला, माओबादी केन्द्रका वडा इन्चार्ज सबिन जिसी, वडा सचिव श्रीराम पौडेल, तालिममा सहभागीका तर्फबाट सन्तु राम्जाली, हेमाया तामााङ लगायतले महिलाहरुलाई क्षमता अभिबृद्धि तालिमसंगै आयआर्जनसंग जोडनुपर्ने बताउनुभयो ।
समापन कार्यक्र्रम वडा स्तरीय महिला सञ्जालका अध्यक्ष तारा परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा ३८ वटा आमा समुहका झण्डै सय जनाको सहभागीता रहेको थियो । तालिममा पत्रकार एवं अधिवक्ता शुष्मा पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।