पोखरा, साउन ७ गते । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गरेका हुन् ।
श्रेष्ठको स्मृति दिवसमा कास्कीमा एमालेका वडादेखि जिल्ला कमिटिले सरसफाई बृक्षरोपण लगायतका कार्यक्रम गरेर स्मरण गरेका छन् । पोखरा महानगपालिका वडा नम्वर सातमा रहेको पुष्पलालको अर्धकदको शालिकमा मल्यापण गरिएको छ भने वडा नम्वर ५ ले बृक्षारोपण गरेर पुष्पलालको स्मरण गरेको छ । त्यस्तै नेकपा एमाले कास्कीले आजै नेपालको कम्यूनिष्ट आन्दोलनमा कमरेड पुष्पलालको योगदान विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
विहान ११ बजेपछि जिल्ला पार्टी कार्यालयमा हुने कार्यक्रममा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इच्चार्ज गोकर्ण विष्ट लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ । यता श्रेष्ठकै स्मृति दिवसमा नेपाल खेलकुद महासंघ कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पृथ्वीचोकबाट सुरु कार्यक्रम सृजनाचोक, जिरो किमी हुदैँ पोखरा ७ नुवारथोक स्थित पुष्पलाल पार्कमा पुगेर सम्पन्न भएको थियो ।
विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्नुअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।
नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।
नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे। अध्ययनशील नेताका रूपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
सहिद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए । पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो ।
विसं २०१७ को राजा महेन्द्रको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । पुष्पलालको सम्झनामा आज पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति उद्यानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।