पोखरा । पोखरामा केपी ओली कप टी(२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सरकारको लगानीबिना खेल र खेलाडीको विकास असम्भव भएको बताए ।
‘जबसम्म खेलाडीहरू व्यवसायिक बन्न सक्दैनन् । तबसम्म खेलकुदमा समृद्धि सम्भव छैन । यसको परिपूर्ति गर्ने काम सरकारको हो’, उनले भने ।कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेलकुद क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मदन भण्डारी स्पोटर्स एकेडेमीका उपाध्यक्ष राजेश गुरुङले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले खेल पूर्वाधार निर्माणमा महत्वपूर्ण काम गरेको बताए । उनले १३ औ सागमा भौतिक पूर्वाधार निर्माणकै क्रममा पोखरा रंगशाला निर्माण भएको बताए । उनले एकेडेमीले खेदकुदको विकासमा र खेलाडी उत्पादनमा भुमिका खेल्दै आएको समेत बताए ।
प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबिच भैरहेको छ । एकेडेमी ‘रातो’ले टस जितेर पहिले फिल्डिङ रोजेको छ । एकेडेमी ‘रातो’को कप्तानी अमर मिश्रले र बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन् ।
प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागि छन् ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।