पोखरा-सन्दीप लामिछानेको बलिङ र रित गौतमको व्याटिङ प्रेरित बागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरुभएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गर्ने क्रममा बिहीबार मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई १०९ रनले पराजित गर्यो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शुरुभएको टी–२० क्रिकेट प्रतियोगितामा रित गौतमको अर्धशतकीय पारीको महत्वपूर्ण इनिङ्समा आयोजक रातोलाई सस्तैमा समेट्दै १०९ रनको जित सुनिश्चित गर्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेको कप्तानीमा उत्रिएको बागमती प्रदेशले रित गौतमको ७४ रनको योगदानमा १८४ रनको योगफल तयार पार्यो । टस हारेको बागमतीले ओपनर गौतमले महत्वपूर्ण इनिङ्स खेल्ने क्रममा ५३ बलमा आठ चौका र तीन छक्कासहित ७४ रन बनाएपछि ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।
गौतम २० औं ओभरको अन्तिम बलमा रन आउटको शिकार भए । महेश भारको बलमा रन लिने क्रममा गौतम आउट हुन पुगे । सुभ कन्साकारले २२ बल खेल्दै २७ बनाएर आउट भए । उनी रनआउट हुन पुगे । ओपनिङमा आएका सुभले ४ चौका र १ छक्का हिर्काए । इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए । पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको अर्का ओपनर रित गौतमले भने इनिङ सम्हालेका थिए । प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट हुन पुगे ।
प्रतिश जिसी पनि बिप्रासन केसीको बलमा ९ रनमै पभेलियन फर्किए । बलर केसीले १४ औं ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए । उनले महत्वपूर्ण विकेट लिने क्रममा सन्दीप लामिछानेको लिए । लामिछानेले उनलाई लगातार तीन छक्का हिर्काएर दबाव राखेपनि ओभरको अन्तिम बलमा आउट भए । गौरभ खड्का १७ रनमा अविजित रहे । एकेडेमीका केसीले ३ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्देथ थापा र सन्तोष यादवले समान एक एक विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको आयोजक रातोलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले चार ओभर बलिङमा आफनो स्पेलमा १६ रन खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले खत्रीले २.२ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिएपछि आयोजक रातो ७५ रनमा समेटिन पुग्यो ।
बागमतीका बलर सामु कमजोर देखिएपछि आयोजक रातोलाई सस्तैमा समेट्दै बागमतीले १०९ रनले जित दर्ता गर्यो । अमर मिश्रले १३, विजय प्रजापतिले १३ र सन्तोष यादव १२ रन बनाए । निर्मल थापाको पनि दोहोरो अंकको रन बनाउने क्रममा १० रन हिर्काए । अन्य व्याटरले दोहोरो अंकको रन छुन सकेनन्