पोखरा/नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तान समेत रहेका कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनले जित हासिल गरेको हो ।
कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् । कुशलले २६ बलमा ५० रन पुरा गरेका थिए भने । उनको विष्फोटक पारीलाई मधेश प्रदेशका विशाल शुसलिङले ब्रेक गरेका थिए ।
टस जितेर पारीको सुरुवात गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्न सफल भयो । खेलमा पुलिसका लागि कुशल संगै पारिको सुरुवात गरेका सुनिल धमलाले सुष्त गतिमा खेल्दै ४७ बल खेल्दै व्यक्तिगत ४५ रनको योगदान दिए ।
खेलमा ५ वल फेस गरेका करन केसीले २ छक्का र एक चौका प्रहार गर्दै १६ रन जोडे । तर अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । आरिफ शेख ६ रन बनाउँदै पेभिलियन फर्किदा राशिद खानले ३ रन बनाए ।
मधेश प्रदेशका लागि विशाल शुसलिङले २, विशाल पटेलले २ र रुपेश शिंहले १ विकेट हात पारे ।
यता जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८.२ ओभरमा ११८ रनमा नै समेटियो । मधेशले १३ रन एक्स्ट्राको रुपमा पाएको थियो । मधेशका व्याटरहरु पुलिसका घातक बलर सामु खुलेर खेल्न सकेनन् । रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गदै सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ रन, रोहन विक र राकेश कमातले समान १०–१० रन जोडे ।
पुलिसका लागि करन केसीले आफ्नो ३ ओभरको स्पेलमा १७ रन दिंदै २ विकेट हात पारे । सागर ढकाल, राशिद खान र ललित राजवंशीले समेत समान २–२ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले १–१ विकेट हात पारे ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार सुदुर पश्चिम प्रदेश विरुद्ध नेपाल पुलिस र दोश्रो खेल कोशी प्रदेश र त्रिभवन आर्मी क्लवका विच हुने प्राविधिक संयोजक शक्ति गौचनले जानकारी दिएका छन् ।
एपिएफ अन्तिम चारमा, गण्डकी पराजित
पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा गण्डकी लुम्बिनी संग पराजित हुँदा शसस्त्र प्रहरीको एपिएफ क्लब सेमीफाइनलमा स्थान पक्का गरेको छ ।
गण्डकी र एपिएफका लागि उत्तिकै महत्वपूर्ण मानिएको आजको खेलमा गण्डकी पराजित हुँदै खेलबाट बाहिरिएको छ भने एपिएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको छ । गण्डकी विरुद्ध खेल जिते पनि लुम्विनी अन्तिमचार बाट बाहिरन पुगेको छ ।
पोखरामा आइतबार भएको खेलमा गण्डकी लुम्बिनी संग ५ रनले् हार व्यहोरेको हो । घरेलु मैदानमा १०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् ।
लुम्विनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।
यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्विनीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धु्रव सुनारले समान २३–२३ रनको योगदान दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे ।
वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट हात पार्दा चन्द्र पौडेलले २ विकेट लिए ।