गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा २०२४ सम्पन्न

पाेखरा, जेठ १५ गते ।पोखराको लेकसाइड होटल पौवामा आइतबार जेठ १३ गते; युथ थिङ्कर्स सोसाइटी पोखराले गरेको गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा सम्पन्न भएको छ । विश्व पारिस्थितिकी तंत्र र जैविक विविधतामा विश्वव्यापी वन डढेलोको बढ्दो खतरालाई सम्बोधन र विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवद्र्धन सम्बन्धमा बहस भएको छ ।

गण्डकी प्रदेशको विभिन्न ११ जिल्लाबाट आएका युवा प्रतिनिधि बहसमा सहभागी भएका थिए । युथ थिङ्कर्स सोसाइटी पोखराले राष्ट्रसंघको नमुना महासभा आयोजना गरेर बहस गराएको थियो जसमा सहभागी प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्वको अभ्यास गरेका थिए ।

महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । शुक्रबार जेष्ठ ११ बाट सुरु भएको नमुना महासभा जेठ १३ गतेसम्म चलेको थियो ।

महासभामा सबै सहभागी गरी ५० जना युवा सहभागीहरु थिए । उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री मा. खगराज अधिकारी र विशिष्ट अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री मा. सीता कुमारी सुन्दास हुनुहुन्थ्यो ।

नमुना महासभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विशेष विशेषज्ञ विषय सत्रमा विश्व पारिस्थितिकी तंत्र र जैविक विविधतामा विश्वव्यापी वनडढेलोको बढ्दो खतरालाई सम्बोधन गर्न गण्डकी प्रदेश वन मन्त्रालयका उप-सचिव मेघराज पौडल हुनुहुन्थ्यो भने विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवद्र्धन सम्बन्धमा पोखरा विश्व विद्यालयका सहायक प्राध्यापक उज्वल अधिकारी हुनुहुन्थ्यो । उक्त आभ्यसमा विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तराष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो ।

युथ थिङ्कर्स सोसाइटी पोखराका अध्यक्ष दिपा अधिकारीले डेलिगेटहरुलाई सौहाद्र्रपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभएको थियो । अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश स्तरिय संयुक्त राष्ट्रसंघको नमुना महासभा सु-सम्पन्न भएको हो । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपुर प्रयोग गर्न अनुरोधसमेत गर्नु भयो ।

 

समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका मा. उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडा हुनुहुन्थ्यो । उहाँले युवाहरुलाई प्रोत्साहन गर्न यस खाले कार्यक्रमको भूमिका हुने बताउनु भयो । पोखरा संयुक्त राष्ट्रसंघको नमुना महासभा भव्यताका साथ समापन भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...