पोखरा, फागुन १५ गते ।कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच भए ।
चापागाँईपनि व्यक्तिगत १४ रनमा एलबीडब्लुको धरापमा परे । उनी सुवास भण्डारीको बलमा आउट भएपछि पर्वतको ओपनिङ जोडी सस्तैमा आउट भयो । सरोजबहादुर कार्की पनि ७ रनमै पभेलियन फर्किए । अनुभवी अमृत गुरुङ पनि २ रनमै आउट भएपछि पर्वतले सामान्य योगफल मै समेटिन पुग्यो । कास्कीका बलर नितेश गिरीले ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरको स्पेलमा १ मेडन राख्दै ३ विकेट लिन १२ रन खर्चिए । कृष्ण पौडेलले ८ ओभरमा ४ मेडन राख्दै १७ रन दिएर २ विकेट आफनो नाममा लेखाए ।
७२ रनको सामान्य लक्ष्य पछ्याएको कास्कीले विना विकेटको क्षतिमा केवल ९.५ ओभरमा पुरा गर्यो । ओपनर मुस्कान थापा र कृष्ण पौडेलले जित निकाले । पौडेलले अर्धशतक पुरा गरे भने थापाले २१ रनमा अविजित रहे ।पौडेलले ३८ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । थापाले पनि २१ बल खेल्ने क्रममा ३ चौका प्रहार गरेका थिए । खेलमा नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए ।