पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा ।पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुुभारम्भ गरेका हुन ।

सो अवसरमा वोल्दै  प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी पोखरामा सम्पूर्ण ठाँउमा सिसिटिभी जडान गर्न सके अपराध न्युनिकरण हुने बताए । जतिपनि अपराध शहरभित्र हुने भएकाले सिसिटिभी जडान गरेको खण्डमा अपराध कम हुने र अपराध गरेमा त्यसमा संलग्नलाई पत्ता लगाउन सहज हुने उनको भनाइ थियो ।

 

स्थानिय निकायहरुले यसमा केही ध्यान दिएको भएतापनि पोखरा महानगरले सम्पूर्ण वडाहरुमा सिसिटिभी जडान गर्न सके थोरै संख्यामा रहेका प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न सक्ने बताए । त्यसका लागि पोखरा महानगरका मेयर समक्ष समेत आफुले पटकपटक आग्रह गरेको ओलियाले बताए ।  पोखरामा चोरी, लागु औषध र सवारी दुर्घटनाको संख्या उल्लेख्य मात्रामा रहेकाले दुर्घटनाको अनुसन्धान गर्न समेत सिसिटीभीले सहायता पुग्ने र दुर्घटना न्युनिकरणमा प्रविधीले सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

 

पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा महानरको वडा नं ८ भित्र सिसिटीभी जडानको कार्यले वडाको सुरक्षामा थप मदत पुग्ने बताए । सिसिटीभी जडान संगै यसको संरक्षणमा समेत ध्यान दिन उनले आग्रह समेत गरे ।
सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले सिसिटीभी क्यामेरा जडानबाट वडा प्रहरी कार्यालय बैदामको कार्यलाई थप मदत पुग्ने बताए ।

 

वडा नं ८ मा सिटिटीभी क्यामेरा जडान गर्दै गर्दा विभिन्न ६वटा घटनाहरु पत्ता लगाउन सफल भएको बताउदै वडा नं ८ मात्र नभइ अन्य वडाहरुले समेत यसलाई अनुसरण गर्न सकेको खण्डमा अपराध न्युनिकरणमा थप मदत पुग्ने बताए । सिसिटीभीमा भेटिएको प्रमाणले अनुुसन्धानलाई प्रभावकारी बनाउने उनको भनाइ रहेको थियो ।

 

नागरिक समाजका अगुवा विष्णु बरालले पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो वडा भित्र सिसिटीभी क्यामेरा जडान गरी प्रविधीमैत्री वडा बनेकोमा धन्यवाद ब्यक्त गरे । वडा भित्रका बस्तीहरु र मन्दिरहरुमा समेत चोरी बढिरहेको बताउदै बरालले पोखरामा पछिल्लो समय सडकछाप मानिसको संख्या बृद्धि हुदै जाँदा विभिन्न अपराधका घटनाहरु बढ्न सक्ने भएकाले त्यसतर्फ सम्पूर्ण सचेत हुनुुपर्नेमा समेत जोड दिए ।

 

त्यस्तै सिसिटीभी क्यामेरा जडान गर्ने गोम्जा आइटी इन्जीनीयरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले आफुले पोखरा महानगर संगको सहकार्यमा वडा भित्रका जाल्पारोड, शिवालयचोक वरिपरि रहेका विभिन्न गल्लीहरुलाई समेटेर २४ वटा स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको बताए । आफुहरुले जडान गरेको सिसिटीभी क्यामेरा पाँच मेगापिक्सलको भएकाले यसअघिका क्यामेरा भन्दा उच्च स्तरको रहेको, रातको समयमा समेत दिनमा जस्तै रंगिन भिडियो आउने वताउदै रातमा समेत ५० मिटर सम्मको दुरीमा भिडियो खिच्ने बताए ।

 

पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा ८ भित्र ८० प्रतिशत ठाँउमा सिसिटीभी क्यामेरा जडान गरिसकेको बताउदै आगामी दिनमा वडाको सम्पूर्ण ठाँउलाई समेटने गरी सिसिटीभी क्यामेरा जडान गर्ने बताए ।

 

कार्यक्रमको सञ्चालन वडा सचिव झम्कनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य गोबिन्द बरालले स्वागत मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...