पोखरा, चैत २९ गते। पोखराको फेवाताल किनारमा भोलिदेखि नेपाली नयाँ वर्षको स्वागतमा २० औँ फेवा नव वर्ष महोत्सव २०८१ सुरु हुदैछ । होटल संघ पोखरा नेपालको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । भोलिदेखि वैशाख १ गतेसम्म संचालन हुने महोस्तवको सम्पूर्ण तयारी पुरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिनुभयो । उहाँले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने बताउनुभयो । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।
पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले बताउनुभयो ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् । पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ सफल पार्न फेवा महोत्सवले भुमिका खेल्ने विश्वास संघले लिएको छ । पोखराबाट छिमेकी देश चीनका विभिन्न सहरमा अन्तर्राष्टिय उडान सुरु र पोखरा जोडने सडक मार्गहरुको स्तरोन्नती कार्य समेत उत्साहप्रद हुदाँ पोखरा आउने पाहुनालाई सहज अनुभुति हुने अपेक्षा संघले गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।