नेवि संघद्वारा पोखरा महानगर शिक्षा महाशाखालाई तीन सूत्रीय माग, सम्बोधन नभए आन्दोलनको चेतावनी

पोखरा । नेपाल विद्यार्थी सङ्घ पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरभित्र रहेका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबाट छात्रवृत्ति, भर्ना शुल्क तथा शैक्षिक शुल्कसम्बन्धी विभिन्न गुनासा आएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।

शैक्षिक सत्र २०८२ मा भर्ना भएका विद्यार्थीहरूलाई शिक्षामा हुने शुल्क लगायतका समस्याबारे विद्यार्थीहरूको आवाजलाई सम्बोधन गर्न माग गर्दै सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखालाई तीन बुँदे मागपत्र पेश गरेको छ ।

सङ्घले सार्वजनिक गरेको मागपत्रमा पोखरा महानगरका सम्पूर्ण विद्यालय तथा क्याम्पसहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र छात्रवृत्ति पाउने विद्यार्थीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, एकपटक भर्ना शुल्क तिरेर भर्ना भएका विद्यार्थीलाई अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क नलिन र अतिरिक्त क्रियाकलापको नाममा कुनै किसिमको शुल्क नउठाउन आग्रह गरिएको छ ।

सङ्घले तेस्रो बुँदामा नेपालको संविधान र ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन’ अनुसार कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने भन्दै सामुदायिक विद्यालयमा लिइने भर्ना शुल्क र महिनावारी शुल्क पूर्ण रूपमा खारेज गर्न माग राखेको छ ।

विज्ञप्तिमा यदि मागहरू सम्बोधन नभए शिक्षामाथि गम्भीर आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । ूहाम्रा मागहरू समयमै सम्बोधन नभए आवश्यक आन्दोलनात्मक कार्यक्रमसहित महानगरभित्रका विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरिनेछ,ू विज्ञप्तिमा भनिएको छ, ूत्यसपछि उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी पोखरा महानगरपालिका शिक्षा महाशाखाले लिनुपर्नेछ ।ू

विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ पोखरा महानगरपालिकाका अध्यक्ष विपिन पौडेलको हस्ताक्षर रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...