पोखरा, मंसिर १३ गते । पोखरा सबै मौसमका लागि भन्ने मुल नारा सहित पोखरामा दोश्रो दाँई महोत्सव २०८१ आयोजना हुने भएको छ । पोखरालाई वर्षभरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषदले दोस्रो दाँई महोत्सव–२०८२ आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस पटकको महोत्सव पोखरा–१९ पुरुन्चौर, चुरुङ्गामा मंसिर १३ गते शनिबार हुने भएको छ ।

गत वर्षदेखि सुरु गरिएको दाँई महोत्सवले कृषि–पर्यटन प्रवर्द्धन, परम्परागत कृषि प्रणाली संरक्षण तथा कृषक सम्मानलाई विशेष प्राथमिकतामा राखेको महोत्सवका संयोजक हरी भुजेलले जानकारी दिए । महोत्स्वमा आठ सय देखि एक हजार स्वदेशी र विदेशी पर्यटक तथा स्थानीयवासी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
नेपालमा खेती योग्य जमिन अन्य प्रयोजनमा मासिँदै गएको वर्तमान अवस्थाले परम्परागत कृषि प्रणाली संकटमा परेको भन्दै पर्यटन परिषदले महोत्सव मार्फत युवापुस्तालाई खेती–किसानीप्रति आकर्षित गर्ने र किसानलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए ।
नेपाल कृषिप्रधान देश भएकाले धानलाई मुख्य खाद्यान्नका रूपमा सम्बोधन गर्दै आयोजकले “मानो छरी, मुरी भित्र्याउने” जस्ता परम्परागत कथनलाई व्यवहारिक रूपमै आम नागरिक तथा पर्यटकसँग जोड्नु महोत्सवको महत्वपूर्ण उद्देश्य ृअध्यक्ष पहारीले बताए ।त्यस्तै, पोखरा पर्यटन राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ चलिरहेको अवस्थामा दाँई महोत्सवले भ्रमण वर्षका लक्ष्य प्राप्तिमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, कृषि पर्यटनलाई अघि बढाउँदै पर्यटन क्षेत्रमा विविधता थप्ने, उत्कृष्ट गोरु पालक तथा धान उत्पादक किसानलाई सम्मान गर्दै कृषकलाई प्रोत्साहन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीको प्रत्यक्ष अवलोकन गराउने, पर्यटकलाई नेपालको स्थानीय संस्कृति, परम्परा र कृषि अभ्यासबारे जाकारी दिने लक्ष्य महोत्सवले दिएको छ ।
दाँई महोत्सवमा परम्परागत कृषि अभ्याससँग सम्बन्धित विविध प्रतियोगिता तथा क्रियाकलाप रहने छन् । उत्कृष्ट गोरु पालक किसान प्रतियोगिता, उत्कृष्ट धान उत्पादक किसान सम्मान,धान चुट्ने दँदेरा प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, सहभागी दँदेरालाई टोपी वितरण रहेका छन् ।
कार्यक्रम मार्फत कृषकको सीप र पहिचानलाई सम्मान गर्दै जनस्तरमा परम्परागत खेतीप्रति आकर्षण बढ्ने विश्वास गरिएको छ । कार्यक्रम संयोजक हरी भुजेलले दाँई महोत्सवले कृषि, संस्कृति र पर्यटनबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताउँदै कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मी तथा सरोकारवालाको साथ–सहयोग आवश्यक भएको उल्लेख गरे। महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन, कृषक उत्थान तथा परम्परागत खेती प्रणाली संरक्षणमा महत्वपूर्ण योगदान गर्ने आयोजनाको धारणा रहेको छ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले पर्यटन प्रवद्र्धनमा मेला महोत्सवले भुमिका खेल्ने बताउदै दाँई महोत्सव पर्यटकका लागि नयाँ आकर्षण हुने बताए । धान उत्पादन, किसान र दाँई सबैको विषयमा जानकारी लिन पाइने भएकाले यो नयाँ आकर्षण बन्ने उनले बताए । पोखराका विभिन्न ठाँउहरुलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्धेश्यले यस पटक नयाँ ठाँउमा दाँई महोत्सव गर्न लागेको बताए ।