पोखरा–३३ का वडाध्यक्षमाथि आन्दोलनकारीलाई खुकुरी देखाएर धम्क्याएको आरोप

पाेखरा ।पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।


पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आएका थिए। बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो क्रममा प्रदर्शनकारीले वडा कार्यालयको गेटमा ताला लगाएका थिए।

प्रदर्शनकै क्रममा वडाध्यक्ष अधिकारी खुकुरीसहित उपस्थित भई आन्दोलनकारीलाई तर्साउने प्रयास गरेको स्थानीय पत्रकार सञ्जय आचार्यले जानकारी दिएका छन्। उनका अनुसार वडाध्यक्षले “को हो यहाँ ताला लगाउने, देखाइदिउँ?” भन्दै खुकुरी नचाएका थिए।

 

घटनापछि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ। खुकुरी देखाइएको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गर्नुका साथै वडा कार्यालयको गेट र कार्यकक्षमा पुनः ताला लगाएर प्रदर्शन जारी राखेका छन्।

स्थानीय बासिन्दाहरूले भरतपोखरी क्षेत्रको पहिचान कुनै पनि हालतमा ल्याण्डफिल साइट हुन नसक्ने स्पष्ट पारेका छन्।
“कुनै पनि परिस्थितिमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य हुँदैन,” स्थानीय दीनेश आचार्यले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने महानगरपालिकाबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...