पोखरा । कास्की जिल्ला निवासी नागरिकहरूको तर्फबाट यस वर्ष पनि २०८२ साल पौष २७ गते राष्ट्रिय एकताका प्रतीक तथा नेपाल राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ।

मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष आदरणीय गुरु वलभद्रनाथ योगिज्यूको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा कास्की जिल्लाभित्रका सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रम अनुसार पौष २७ गते आइतबार अपरान्ह ११:०० बजे जिल्लाभित्रका विभिन्न संघ–संस्थाहरू आफ्ना–आफ्ना ब्यानर तथा भेषभूषासहित पोखराको मानवअधिकार चोक (चिप्लेढुंगा) मा भेला हुनेछन्। ११:३० बजे उक्त भेलालाई पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रामा परिणत गर्दै पृथ्वीचोकस्थित कार्यक्रम स्थलसम्म लगिनेछ।
१२:३० बजे पृथ्वीचोकमा आयोजित मूल समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सम्बोधन गरिनेछ। सो अवसरमा नेपाल राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिनुका साथै प्राज्ञिक व्यक्तित्वहरूबाट उहाँको योगदान, राष्ट्रिय एकता र राष्ट्र निर्माणमा उहाँले निर्वाह गर्नुभएको भूमिकाबारे चर्चा–परिचर्चा गरिने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार विश्वको राजनीतिक मानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गर्न पृथ्वीनारायण शाहले पुर्याउनुभएको योगदान अतुलनीय छ। नेपालीहरूको शौर्य, पराक्रम, स्वाभिमान र राष्ट्रिय एकताको भावना विस्तारमा उहाँको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै महान व्यक्तित्वहरूको संस्मरणमा जन्मजयन्ति मनाउनु वैदिक संस्कृति तथा नेपालीहरूको मौलिक परम्परा भएको आयोजकको भनाइ छ।
कार्यक्रम संयोजक भौलाजग सुवेदीले कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय एकता दिवसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। कार्यक्रमलाई सफल बनाउन समाजका सबै वर्गको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ।
त्यसैगरी सचिव भुपेन्द्र गिरीले कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने जनाउँदै सञ्चारकर्मीहरूलाई सहयोग तथा सहभागिताका लागि हार्दिक आग्रह गरे। कार्यक्रमका प्रमुख संरक्षक चिदुन चैतन्य महाराज जी रहनु भएको आयोजकले जनाएको छ।