पोखरामा यु–१९ महिला साफ च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा । यु–१९ महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

उपाधि जित्दै भारतले लिग चरणमा बंगलादेशसँग बेहोरेको हारको बदला पनि लिएको छ । लिग चरणमा बंगलादेशले भारतलाई २–० ले पराजित गरेको थियो । तर फाइनलमा भने बंगलादेश सतप्रतिशत प्रदर्शन गर्न असफल रह्यो । गोलकिपरको अक्षम्य गल्तीपछि गोल खान पुगेको बंगलादेशमाथि भारतले सहज जित निकाल्दै ट्रफी उचाल्यो ।

 

खेलको ४२औँ मिनेटमा भारतले गोलको खडेरी तोड्यो । टिमकी कप्तान तथा भरपर्दा मिडफिल्डर जुलान नङमाइथेमले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । अल्बादेवी सेन्जामको क्रस पासलाई नियन्त्रणमा लिँदै प्रितिका बर्मनले सिक्स यार्ड बक्सभित्र जुलानलाई बल उपलब्ध गराएकी थिइन् । कुनै पनि बंगलादेशी खेलाडीको निगरानीमा नपरेकी जुलानले सहज रूपमा गोल गरिन् ।
पहिलो गोलपछि उत्साहित भारतले ६३औँ मिनेटमा पेनाल्टीको अवसर पायो । सेन्जामलाई पेनाल्टी बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई एलिजाबेथ लाक्राले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाइन् ।

 

तेस्रो गोल ६८औँ मिनेटमा बंगलादेशी गोलकिपरको गल्तीबाट भयो । गोलकिपरले बल क्लियर गर्न ढिलाइ गर्दा पर्ल फर्नान्डेजसँग रिफ्लेक्ट हुँदै गोलपोष्ट नजिक पुगेको बललाई उनले गोलमा परिणत गरिन् । त्यसपछि भारत खेलमा पूर्ण रूपमा हाबी बन्यो ।
चौथो गोल वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी अन्विता रघुरमनले गर्दै भारतको जित सुनिश्चित गरिन् । उता बंगलादेशले ५१औँ मिनेटमा वान–भर्सेस–वान अवस्थामा सृमोती त्रिसना रानीले प्रहार गरेको बल पोस्ट बाहिर गएपछि गोल गर्ने सुनौलो अवसर गुमायो ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापन तथा कास्की जिल्ला फुटबल संघ, जिल्ला खेलकुद विकास समिति र पोखरा महानगरपालिकाको समन्वयमा आयोजित च्याम्पियनसिपमा भारतले ‘अनुशासित टोली’ को पुरस्कार जित्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपरको पुरस्कार भारतकी मुन्नीले हात पारिन् । सर्वाधिक गोलकर्ता तथा मोस्ट भ्यालुएबल खेलाडीको उपाधि भने बंगलादेशकी अल्पी अख्तरले जितिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...