वडा २१ मा डम्पिङ साइट बनाउने तयारीप्रति एमालेको आपत्ति

पोखरा, २९ माघ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका–२१ वडा कमिटीले वडा नं. २१ को भौगोलिक सीमाभित्र फोहोर व्यवस्थापनका नाममा डम्पिङ साइट बनाउने तयारीप्रति गम्भीर आपत्ति जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत वडा कमिटीले पोखरा महानगरपालिका ३३ वडाको साझा संरचना भएकाले सम्पूर्ण महानगरको फोहोर व्यवस्थापनको दायित्व एउटै वडामाथि थोपर्नु न्यायोचित, व्यवहारिक तथा वैज्ञानिक दृष्टिले उपयुक्त नहुने उल्लेख गरेको छ।

 

वातावरणीय प्रभाव मूल्याङ्कन, जनस्वास्थ्यको संवेदनशीलता र दीर्घकालीन पर्यावरणीय असरलाई बेवास्ता गर्दै हतारमा निर्णय लिन खोजिएको आरोपसमेत लगाइएको छ।

 

विज्ञप्तिमा वडा नं. २१ प्राकृतिक सम्पदा, कृषियोग्य जमिन, बस्ती संरचना तथा जैविक विविधताका हिसाबले संवेदनशील क्षेत्र भएकाले अवैज्ञानिक ढंगले फोहोर फाल्ने निर्णयले स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने दाबी गरिएको छ।

 

एमाले वडा कमिटीले उक्त निर्णय तत्काल रोक्न, वातावरणीय तथा प्राविधिक अध्ययन गरी सबै सरोकारवालासँग छलफल गरेर दिगो र वैज्ञानिक समाधान खोज्न महानगरपालिकासँग माग गरेको छ।

 

विज्ञप्तिमा भनिएको छ, “यदि यस विषयमा तत्काल पुनर्विचार गरिएन भने स्थानीय जनताको भावना र अधिकारको रक्षा गर्न आवश्यक आन्दोलनका कार्यक्रम अघि बढाइनेछ।”

 

वडा कमिटीका अध्यक्ष राजेन्द्र बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनस्वास्थ्य, वातावरण संरक्षण र दिगो विकासप्रति प्रतिबद्ध रहँदै जिम्मेवार निर्णय गर्न सम्बन्धित निकायलाई पुनः आग्रह गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...