पोखरा, फागुन १८ — प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले मतदानका दिन सवारी साधन सञ्चालनमा कडाइ गर्ने भएको छ।

निर्वाचन आयोगको मिति २०८२/११/१३ को निर्णय, मिति २०८२/११/१६ को प्रेस विज्ञप्ति तथा गृह मन्त्रालयको मिति २०८२/११/१६ को पत्रका आधारमा मतदान हुने दिन अर्थात् फागुन २१ गते सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। प्रशासनका अनुसार फागुन २० गते राति १२:०० बजेदेखि मतदान कार्य सम्पन्न भई साँझ ७:०० बजेसम्म अत्यावश्यक सेवा र सवारी पास प्राप्त सवारी साधन बाहेक अन्य सबै सवारी साधन सञ्चालन गर्न पाइने छैन।
प्रशासनले फागुन २१ गते सवारी अनुमति (पास) आवश्यक नपर्ने सवारी साधनहरूको सूची सार्वजनिक गरेको छ। जसअनुसार दमकल, एम्बुलेन्स र शववाहन; खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन; दूरसञ्चार, विद्युत, ढल तथा खानेपानी मर्मतका सवारी साधन; अस्पताल सेवाका सवारी साधन; अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रु बोकेका सवारी साधन; हिँड्न नसक्ने गर्भवती, सुत्केरी, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक मतदाता बोकेका सवारी साधन; कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारी साधन; आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहक सवारी साधन, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन सवारी तथा प्रेस पास भएका पत्रकारका सवारी साधन सञ्चालन गर्न पाउनेछन्।
यस्ता सवारी साधनले सम्बन्धित सेवाको स्टिकर वा परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने प्रशासनले जनाएको छ। साथै, असम्बन्धित यात्रु नबोक्न समेत अनुरोध गरिएको छ।
त्यस्तै, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिसमा उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सवारी अनुमति (पास) जारी गरिने व्यवस्था गरिएको छ। जारी भएको अनुमति प्राप्त सवारी साधन सम्बन्धित व्यक्ति बाहेक अरूले प्रयोग गर्न नपाउने स्पष्ट पारिएको छ।
उल्लेखित व्यवस्था विपरीत सवारी साधन सञ्चालन गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।