मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन मतदातालाई निर्वाचन आयाेगकाे आग्रह

काठमाडौँ, फागुन २० गते ।निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई आग्रह गरेको छ।


आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति गर्न सक्ने तथा समावेशी र उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने भएकाले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो।

उहाँले भन्नुभयो, “निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो। लोकतन्त्र सुदृढ बनाउन हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक/कानुनी अधिकार मात्र नभई लोकतन्त्रप्रतिको जिम्मेवारी पनि हो।”

 

आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्‍याइसकिएको छ।

 

यसैबीच, मतदानको तयारीका क्रममा रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन सामग्री बोकेको सवारी साधन दुर्घटनामा पर्दा सुरक्षाकर्मी र मतदान अधिकृतको निधन भएको घटनाप्रति आयोगले गहिरो दुःख व्यक्त गरेको छ। साथै सर्लाही र मुस्ताङ जिल्लामा मतदान अधिकृत तथा कञ्चनपुरमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको निधन भएको घटनाप्रति पनि आयोगले शोक व्यक्त गर्दै सम्बन्धित परिवारप्रति समवेदना प्रकट गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...