सडकमा पुस्तक बिक्री नगर्न पुनलाइ पाेखराका मेयर आचार्यकाे आग्रह

पोखरा । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले  सामाजिक अभियन्ता महावीर पुनलाई पुस्तक बिक्री–वितरण कार्यलाई कानुनी र व्यवस्थित ढङ्गले सञ्चालन गर्न आग्रह गरेका छन्।

मेयर आचार्यले बुधबार सार्वजनिक ध्यानाकर्षण पत्र जारी गर्दै पुनको नवप्रवर्तन र अनुसन्धानका लागि सञ्चालन गरिएको अभियानप्रति सम्मान व्यक्त गर्दै सहयोग गर्न आफूहरू तयार रहेको बताएका हुन्। उनले अत्यधिक मतसहित विजयी भएकोमा पुनलाई बधाई दिँदै देश र समाजप्रतिको उनको समर्पण, सादगीपन र उद्देश्यप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन्।

 

ध्यानाकर्षण पत्रमा पुनले देशभरि घुमेर पुस्तक बिक्रीमार्फत नवप्रवर्तन तथा अनुसन्धान अभियानका लागि जनसमर्थन जुटाइरहेको कार्य सराहनीय भएको उल्लेख गरिएको छ। तर, बिना दर्ता वा आवश्यक अनुमति सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायात व्यवस्थापनमा समस्या देखिएको र केही अनावश्यक विवाद उत्पन्न भएको पनि मेयर आचार्यले जनाएका छन्।

 

आचार्यका अनुसार देशभर करिब १८ हजार पुस्तक व्यवसायी राज्यका निकायमा दर्ता भई पुस्तक बिक्री–वितरण गर्दै आएका छन्। त्यसैले पुन पोखरा आउने समय दिएमा पुस्तक व्यवसायी महासंघमार्फत उचित स्थान उपलब्ध गराई व्यवस्थित रूपमा पुस्तक बिक्री–वितरण गर्न सहयोग गरिने प्रस्ताव उनले गरेका छन्।
फुटपाथमा साना व्यवसाय गर्नेहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न आग्रह गर्ने अवस्था रहने भएकाले त्यही नियम सबैमा लागू हुँदा अनावश्यक विवाद सिर्जना हुन नदिन पनि आग्रह गरिएको पत्रमा उल्लेख छ।

 

साथै, पुनले हालसम्म कति पुस्तक बिक्री–वितरण गरे भन्ने विवरण सार्वजनिक गरेमा पारदर्शिता बढ्ने र करसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ दिन सकिने आचार्यको भनाइ छ।

 

मेयर आचार्यले पुनको अभियानप्रति सम्मान व्यक्त गर्दै आवश्यक सहयोग र सहकार्यका लागि महानगरपालिका तथा सम्बन्धित निकाय सधैँ तयार रहेको बताएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...