जनताले मतपत्रबाटै अस्वीकार गरिसकेपछि कारबाहीको धम्की बुद्धिमानी होइन:एमाले नेता पाण्डे

पाेखरा ।  नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे ले जनताले मतपत्रमार्फत पार्टीलाई अस्वीकार गरिसकेको अवस्थामा कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु उचित नहुने बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताले स्पष्ट सन्देश दिइसकेको अवस्थामा नेतृत्वले आत्मसमिक्षा गर्नुको सट्टा कारबाहीको भाषा प्रयोग गर्नु कति बुद्धिमानी हुन्छ भन्ने प्रश्न उठाएका छन्।

 

उनले यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ भन्ने विषयमा पनि गम्भीर बहस आवश्यक रहेको उल्लेख गरेका छन्।

 

नेता पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने समय आइसकेको बताएका छन्। यस्तो गम्भीर अवस्थामा पनि “सबै ठीक थियो, हामीलाई फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु सरह हुने उनको तर्क छ।

 

उनका अनुसार अन्तर्घात वा षड्यन्त्रका कारण केही हजार मत तल–माथि हुन सक्ने भए पनि ४०–५० हजार मतको अन्तरलाई केवल ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताइएको छ।

 

पाण्डेले यो कुनै षड्यन्त्र नभई पार्टीको वर्तमान सञ्चालन पद्धति र हठप्रति जनताले दिएको अस्वीकृतिको सन्देश भएको टिप्पणी गरेका छन्।

 

उनले यदि पार्टीले समयमै आफ्नो कार्यशैली परिवर्तन गर्न सकेन र “अरू असफल हुन्छन् र फेरि हाम्रो पालो आउला” भन्ने सोचमै अल्झिरह्यो भने त्यसले पार्टी र देश दुवैका लागि घातक परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...