पोखरामा नाइट स्ट्रिट रन आयोजना हुँदै

पोखरा । पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्र को संयुक्त आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘पोखरा नाइट स्ट्रिट रन’ (रात्रिकालीन दौड) यही चैत २८ गते शनिबार हुने भएको छ।

बेलुका ७ बजे बाराहीघाट बाट सुरु हुने ५ किलोमिटर दूरीको दौड मेन्डर प्वाइन्ट, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुल स्थित कण्डा पार्क क्षेत्रमा पुगेर समापन हुने संयाेजक दिननाथ बरालले बताए ।

 

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। पछिल्लो समय पर्यटकीय राजधानी पोखरामा अंग्रेजी नयाँ वर्ष लक्षित यस्ता गतिविधि घट्दै गएको सन्दर्भमा यस कार्यक्रमले पर्यटनलाई नयाँ ऊर्जा दिने विश्वास गरिएको छ।

 

प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू–१६ (१२–१६ वर्ष) गरी चार विधा समावेश गरिएका छन्। सहभागी धावकहरूको बीमा गरिनुका साथै रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न पनि अनुमति दिइनेछ। इच्छुकले पोखरा क्लिक को अनलाइन पोर्टलमार्फत चैत २५ गते बिहान ११:२९ बजेसम्म दर्ता गर्न सक्नेछन्।

 

पुरस्कारतर्फ खुला विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला, विदेशी र यू–१६ विधाका विजेताले जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्क को एक हजार रुपैयाँ बराबरको प्रवेश टिकट पाउनेछन् भने अन्य सहभागीलाई पार्क तथा वाटर गेममा ३० प्रतिशत छुट दिइनेछ।

 

कार्यक्रम सफल बनाउन करिब ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। पोखरा महानगरपालिका तथा पोखरा भ्रमण वर्ष २०२५/०२६ को प्रवर्द्धनमा आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोग रहनेछ।

 

आयोजकका अनुसार ‘पोखरा नाइट स्ट्रिट रन–२०८३’ ले शहरी गतिशीलता, शान्ति सुरक्षा, स्वस्थ जीवनशैलीप्रति सचेतना र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

पाेखरा हाेटल संघका अध्यक्ष‌‌ लक्षमण सुवेदीले पाेखराकाे पर्यटन प्रबर्धन मा भुमिका खेल्ने भएकाले संघले सम्पूर्ण सहयाेग रहने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...