पोखरा । होटल पौवा प्रा.लि. ले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा देशभर रहेका सबै शाखामा एकसाथ ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना गर्ने भएको छ।
कम्पनीले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत चैत २६ देखि २८ गतेसम्म देशभरका २० वटा शाखामा एकैपटक उत्सव सञ्चालन गरिने जानकारी दिएको हो।

कम्पनीका अध्यक्ष तुलसीराम ज्ञवाली का अनुसार पौवाले १० वर्षअघि चैत २५ गते नेपाली हस्पिटालिटीको अवधारणासहित सेवा सुरु गरेको थियो। छोटो समयमै देशका विभिन्न पर्यटकीय गन्तव्यमा २० शाखा विस्तार गर्न सफल भएको उनले बताए। आगामी दिनमा पनि प्रमुख पर्यटकीय क्षेत्रमा शाखा विस्तारलाई निरन्तरता दिइने उनको भनाइ छ।
महाप्रबन्धक केशव भण्डारी ले उत्सव अवधिभर सबै शाखामा विशेष अतिथि सत्कारसहित मौलिक नेपाली स्वाद प्रस्तुत गरिने जानकारी दिए। उनका अनुसार कार्यक्रमका लागि देशभर करिब ४० हजार निमन्त्रणापत्र वितरण गरिएको छ।
रुपन्देहीको सालझण्डीस्थित सानो संरचनाबाट सुरु भएको कम्पनी अहिले भैरहवा हुँदै देशका विभिन्न सहरमा फैलिएको छ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले चैत २८ गते भैरहवा शाखामा ‘वितायौँ बालापन’ अवधारणामा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ, जसमा भावी रणनीति तथा विस्तार योजनाबारे छलफल गरिनेछ।
यसैबीच, नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ सबै शाखामा ‘शुभकामना साँझ–२०८३’ शीर्षकमा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।
लेखापाल सुवास ज्ञवाली का अनुसार कम्पनीले विभिन्न जातजातिका चाडपर्वमा विशेष कार्यक्रम गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ।