पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशनमा ६६ जना मानिस पक्राउ परेका छन्। लागू औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने गतिविधि, टोलगुन्डागर्दी तथा शंकास्पद हिँडडुल नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

वैशाख ९ गते राति ९:०० बजेदेखि १० गते बिहान ५:०० बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा गरिएको अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार मोहोरियाटोल, गोहापाटन, लेकसाइड, दमसाइड, बाग्ले टोल, सभागृहचोक, शिवालयचोक, पृथ्वीचोक, काँडाघाट, रामबजार, सृजनाचोक, लामागाउँ, भलाम लगायत क्षेत्रबाट व्यक्तिहरू पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये ८ जनामाथि लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ भने २७ जनामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकता विपरीतका कसुरमा अनुसन्धान भइरहेको छ। १५ जनालाई जिल्ला प्रशासन कार्यालयमार्फत जरिवाना गरी छाडिएको छ भने ३० जनालाई सम्झाइ–बुझाइ आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। साथै २ जनालाई हिरासतमा राखिएको छ।
प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।