पोखरा ।प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराल सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त पुरस्कारको वर्ष २०८१ बाट बस्नेत र वर्ष २०८२ बाट बराललाई जनही १ लाख १ हजार १११ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरे ।
प्रजातन्त्र सेनानी पालिखेको स्मृतिमा उनको परिवारले स्थापना गरेको उक्त सम्मान नेपाल पत्रकार महासंघ कास्की शाखाले सञ्चालन गर्दै आएको छ । सम्मानित तनहुँका बस्नेत लामो समय पोखरामा पत्रकारिता गरी हाल राष्ट्रिय समाचार समिति (रासस) काठमाडौंमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन् । त्यस्तै, पोखराका बराल हाल बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट् र इनेचर न्युजमा आबद्ध छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गरे । उनले भने, ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ ।
पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु ।’
पत्रकारिता पेसा मात्र होइन, यसलाई महत्वपूर्ण सामाजिक दायित्व र चुनौतीपूर्ण सेवाका रुपमा लिनुपर्नेमा जोड दिँदै उनले राष्ट्रको चौथो अंगका रूपमा समाजलाई सही मार्गमा अघि बढाउने जिम्मा पत्रकारिता जगतमै रहेको बताए । प्रदेश प्रमुख भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै यो एआई डिजिटल युगमा आफूलाई समयानुकूल अपडेट गर्दै क्षमता अभिवृद्धितर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बरालले प्रेस स्वतन्त्रता संकुचित पारेर लोकतन्त्र सुदृढ हुन नसक्ने बताउँदै सरकारी विज्ञापन वितरणमा देखिएको असमानताविरुद्ध महासंघको आन्दोलन जारी रहेको बताए । सम्मानित पत्रकारद्वय बस्नेत र बरालले उक्त सम्मानले आफूहरूलाई पेशागत जिम्मेवारी थप मजबुत बनाउन प्रेरणा मिलेको सुनाए ।
कार्यक्रममा पालिखे परिवारका तर्फबाट सुनयना पालिखे, प्रतिभा छनोट समिति संयोजक रवीन्द्रनाथ बास्तोला, प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी तथा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।