पोखरामा ड्रग्स सेवनपछि ‘ग्याङ फाइट’ गर्ने ६ जना पक्राउ

पोखरा, वैशाख २७ — पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा ड्रग्स सेवनपछि झै–झगडा (ग्याङ फाइट) गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाएको हो।

प्रहरीका अनुसार वैशाख २२ गते राति करिब ११:३० बजे पोखरा महानगरपालिका–२ स्थित बाग्लुङ बसपार्कमा केही व्यक्तिहरूबीच झै–झगडा भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसक्रममा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले घटनामा संलग्न ६ जनालाई वैशाख २६ गते बागबजार र बाग्लुङ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।प्रहरी अनुसन्धानबाट झै–झगडाको मुख्य कारण लागूऔषध कारोबार रहेको खुलेको बताइएको छ।

 

पक्राउ पर्नेहरूमा पोखरा–१३ का २७ वर्षीय सुजन आले मगर, पोखरा–१३ बस्ने २३ वर्षीय राजेश परियार, धर्चे गाउँपालिका–६ गोरखाका स्थायी बासिन्दा हाल पोखरा–१३ बस्ने २० वर्षीय दिपेश भनिने दिलराम गुरुङ, पोखरा–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा–२ बस्ने २० वर्षीया लिजा पुन रहेका छन्।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...