पोखरा ।यात्राका क्रममा तीन दिनअघि भोग्नुपरेको दुःखद घटनापछि एक बौद्धिक अपाङ्गता भएका युवाले आफूले न्याय र सम्मान पाएको भन्दै खुसी व्यक्त गरेका छन्।

घटनापछि विषयलाई गम्भीर रूपमा लिँदै आज वडा कार्यालयमा सरोकारवालाबीच महत्वपूर्ण छलफल भएको थियो। छलफलमा सहभागी भएका पोखरा–२६ का वडा अध्यक्ष नरेन्द्र थापाले ती युवाको पहिचान र सुरक्षाका लागि रिफ्लेक्टरसहितको ‘डिसेबल ड्रेस’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्यसैगरी, बेगनासताल पोखरा यातायात प्रा.लि.का अध्यक्ष तथा सल्लाहकारहरूले आफ्ना सम्पूर्ण बसहरूमा ती युवालाई यात्रा गर्दा विशेष छुट प्रदान गर्ने निर्णय गरेका छन्।
“ढिलै भए पनि न्याय र सम्मान पाएको छु, मन निकै खुसी छ,” भन्दै ती युवाले आफूजस्ता बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समाजमा सम्मानपूर्वक बाँच्न र सहज रूपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्न सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन्।
उनले वडा अध्यक्ष नरेन्द्र थापा, बेगनासताल पोखरा यातायात प्रालि परिवार तथा सम्पूर्ण सरोकारवालाप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दै यस्ता पहलले अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।