जनतातिर फर्कने एमालेको अभियान : मिसन पार्टी जागरण

रामप्रसाद खनाल /इतिहास सधैं सीधा रेखामा हिँड्दैन। यसका आफ्नै मोडहरू हुन्छन्, आफ्नै उकाली–ओरालीहरू हुन्छन्। कहिलेकाहीँ एउटा ऐतिहासिक आन्दोलन र त्यसको संवाहक शक्तिले यस्तो मोडको सामना गर्नुपर्ने हुन्छ, जहाँ विगतका गौरवहरू एकाएक ओझेलमा पर्छन् र वर्तमानका चुनौतीहरू पहाड बनेर उभिएका देखिन्छन्। नेपाली वामपन्थी आन्दोलनको मूल प्रवाह र राष्ट्रिय राजनीतिको मियो मानिने नेकपा (एमाले) यतिबेला ठ्याक्कै त्यस्तै एउटा विशिष्ट र संवेदनशील मोडमा आइपुगेको छ। २०८२ सालको भदौ २३ र २४ गते भएका विध्वंसकारी घटनाहरू, त्यसको जगमा रचिएको प्रतिगमनको तानाबाना र लगत्तै भएको आम निर्वाचन २०८२ मा पार्टीले बेहोर्नु परेको अनपेक्षित एवम् अस्वाभाविक पराजयले एउटा गम्भीर प्रश्न खडा गरिदिएकोछ।

त्यो प्रश्न केवल चुनाव हार्नु वा जित्नुसँग मात्र सम्बन्धित छैन, बरु त्यो त नेपालको लोकतान्त्रिक आन्दोलनको भविष्य, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपाल राष्ट्रको सार्वभौमिकतासँग अभिन्न रूपमा जोडिएको छ। यस्तो संगीन घडीमा पार्टीको खस्कँदो मनोबललाई उकास्न, जनतासँग टुट्दै गएको सम्बन्धलाई पुनः नवीकरण गर्न र सिंगो पार्टीपंक्तिमा नयाँ ऊर्जा सञ्चार गर्नका लागि ‘मिसन पार्टी जागरण अभियान २०८३’ को प्रस्थानविन्दु तय गरिएको छ।

 

​कुनै पनि राजनीतिक दलको प्राण वायु भनेकै उसका कार्यकर्ता र जनसमुदायको भरोसा हो। जब संशयको बादलले आम कार्यकर्ताको मनोबललाई थिच्छ, तब संगठनको गति आफैं कुण्ठित हुन पुग्छ। भदौको त्यो विध्वंसात्मक घटना र निर्वाचनको परिणामपछि एमालेका आम कार्यकर्ताको मनमा निराशाको सानो झिल्को देखिनु र पार्टीलाई माया गर्ने शुभचिन्तकहरू चिन्तित हुनु स्वाभाविक थियो। प्रतिगामी शक्तिहरूले यही निराशालाई हतियार बनाएर आन्दोलनका उपलब्धिहरू उल्ट्याउने दुस्साहस गरिरहेका छन्।

 

एमाले नेता-कार्यकर्ताले समयमै जनतामा सही सूचना प्रवाह गर्न सकेनन्, पार्टी नेतृत्वको सरकारले गरेका दूरगामी र जनपक्षीय कामहरूलाई व्यवस्थित ढंगले स्थापित गर्न सकेनन् र एमालेका विरुद्ध फैलाइएका सुनियोजित अफवाह र भ्रमका खेतीहरूलाई चिर्न सकेनन् । शत्रुले फैलाएका भ्रमहरू जब सत्यजस्ता देखिन थाल्छन्, तब आफ्नै गल्तीहरूको निर्मम समीक्षा गर्न ढिला भइसकेको हुन्छ। त्यसैले यो अभियान कुनै औपचारिकता पूरा गर्ने कर्मकाण्ड मात्र होइन, यो त आफ्ना कमजोरीहरूलाई ऐनामा हेरेर अनुहार सफा गर्ने एउटा वैचारिक र सांगठनिक अभियान हुनेछ।

 

​यो अभियान केवल माथिल्लो तहका कमिटी वा कोठाभित्र गरिने कोरा बहसमा मात्र सीमित हुनेछैन, यसको कार्यक्षेत्र र सांगठनिक फैलावट सिधै भुइँतहसम्म पुग्ने गरी तय गरिएको छ। यस अभियानको प्रमुख केन्द्रविन्दु हरेक पालिकाको वडा तह रहनेछ, जहाँ जनताका दैनिक सुखदुःख र जीवनका संघर्षहरू घामपानीजस्तै छताछुल्ल भइरहेका हुन्छन्। वडा तहमा पुग्दा नै पार्टीले आफ्नो जीवन्तता प्राप्त गर्दछ। यस प्रक्रियामा पालिका कमिटीहरूलाई संस्थागत रूपमा पूरै क्रियाशील र जिम्मेवार बनाएर परिचालन गरिनेछ। अभियानको मुख्य र प्रत्यक्ष जोड भनेको पार्टीको आधारशिलालाई बलियो बनाउनु हो।

 

नयाँ सदस्यताको विस्तार, संगठित सदस्यताको समयमै नवीकरण, र पार्टी संगठनको चुस्त पुनर्संरचना नै यसका मुख्य प्रस्थानविन्दु हुन्। संगठनको यो सुदृढीकरण केवल प्रशासनिक काम मात्र होइन, यस क्रममा गाउँ, टोल र चौतारीहरूमा आवश्यकता अनुसार सिर्जनात्मक अन्तरक्रिया, जीवन्त संवाद, वैचारिक छलफल र घनीभूत राजनीतिक प्रशिक्षण जस्ता विविध क्रियाकलापहरू सञ्चालन गरेर सिंगो पार्टीपंक्तिलाई एउटै लयमा हिँडाइनेछ। यो सांगठनिक जागरणको समग्र गतिविधि केवल आजको तात्कालिक कार्यसूची मात्र होइन, यसले आगामी पालिका र प्रदेशसभाको निर्वाचनलाई स्पष्ट रूपमा आफ्नो ध्यानमा राखेको छ, ताकि आउने चुनावी लडाइँहरूमा पार्टीले एकताबद्ध र अजेय शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्न सकोस्।

 

​यस्तो बृहत् र गम्भीर अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न नीति, व्यवस्थापन र नेतृत्वको सुमधुर संयोजन आवश्यक पर्दछ। यसका लागि पार्टी केन्द्रीय कमिटीको सुस्पष्ट योजना, अनि प्रदेश तथा जिल्ला कमिटीको सुदृढ व्यवस्थापकीय अगुवाइ रहनेछ। ‘मिसन पार्टी जागरण’का लागि केन्द्रीय प्रतिनिधिको रूपमा तोकिएका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू र अगुवा कार्यकर्ताहरूको प्रत्यक्ष मैदानमै खटिएर सक्रिय संलग्नता रहनेछन्।

 

स्थानीय आवश्यकता र परिस्थितिलाई नियाल्दै प्रदेश र जिल्ला कमिटीहरूले थप कुशल जनशक्ति पनि परिचालन गर्न सक्नेछन्। भूगोल र सांगठनिक यथार्थलाई ध्यानमा राख्दै कार्यक्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिहरू र कार्यक्षेत्रको जिम्मेवारीमा केही फेरबदल गर्नुपर्ने व्यावहारिक अवस्था आएमा, त्यसको बाँकी अधिकार प्रदेश इन्चार्जलाई प्रत्यायोजन गरिएको छ, जसको आवश्यक जानकारी केन्द्रीय कार्यालयलाई गराउनु पर्नेछ। यसरी केन्द्रको दूरदृष्टि, प्रदेश र जिल्लाको व्यावहारिक समन्वय र वडा तहको जीवन्त सहभागिताबाट नै एमालेले आफ्नो गुमेको आधार पुनः प्राप्त गर्नेछ।

 

​कुनै पनि राजनीतिक आन्दोलनलाई विचार र भावनाले मात्र गति दिन सक्दैन, त्यसका लागि सांगठनिक यथार्थ, प्रचार शैली र कार्यालय व्यवस्थापनको चुस्तता पनि त्यत्तिकै अनिवार्य हुन्छ। एमाले आफैं कति व्यवस्थित छ भन्ने कुराले नै बाहिर दिने सन्देशको प्रभावकारिता निर्धारण गर्छ। त्यसैले यो जागरण अभियानको समयमा संगठन, प्रचार र कार्यालय व्यवस्थापन-यी तीनवटै क्षेत्रलाई चुस्त र दुरुस्त राख्नका लागि एउटा वैज्ञानिक चेकलिस्टको प्रयोग अनिवार्य बनाइएको छ। चेकलिस्टले गम्भीर आत्मसमीक्षाका लागि उत्प्रेरित गर्छ। जस्तै कमिटीहरूमा वास्तवमा कति जना हुनुहुन्छ र तीमध्ये कति जना नियमित बैठकहरूमा उपस्थित हुनुहुन्छ? बैठकको समयमा मात्र होइन,त्योभन्दा बाहेकको समयमा पनि पार्टी गतिविधिमा कति जना सक्रिय हुनुहुन्छ? कमिटीभित्र सबैभन्दा राम्रो छवि र जनस्वीकार्यता भएका कार्यकर्ता कति हुनुहुन्छ? जेसुकै कारणले भए पनि छवि धमिलो भएका साथीहरूको अवस्था के छ?

 

​पार्टीका नियमित बैठकहरू कतिको समयबद्ध र एजेन्डाकेन्द्रित हुने गरेका छन्? के बैठकहरूले स्पष्ट अवधि तोकेरै “यो काम यति समयभित्र सम्पन्न गर्ने” भनेर कार्ययोजना बनाउने गरेका छन्? के पार्टीका आम्दानी खर्चका कारोबारहरुको पारदर्शी,लेखांकन तथा रेकर्ड र लेखापरीक्षण व्यवस्थित छ? तोकिएका कामहरूमध्ये कति पूरा भए र यदि पूरा हुन सकेनन् भने त्यसका पछाडि रहेका वास्तविक बाधाहरू के-के हुन्? के हरेक बैठक बस्नुअघि एजेन्डाको पर्याप्त तयारी भएकोछ? कि बिनातयारी केवल गफगाफमा अल्झिएकोछ ? बैठकमा प्रस्तावहरूको प्रस्तुति र निर्णय गर्ने प्रक्रियाहरू कतिको सामूहिक र लोकतान्त्रिक छन्? योसँगै पार्टी कार्यालयहरूको व्यवस्थापन कसरी भइरहेकोछ ? सदस्यता वितरणलाई अनलाइन प्रणालीमा रूपान्तरण गर्न सकिएको छ कि छैन ? आजको डिजिटल युगमा पार्टीको आधिकारिक वेबसाइट र मोबाइल एपलाई पालिका र वडा तहसम्म कसरी प्रयोग भइरहेको छ ? के अगुवा कार्यकर्ताहरूलाई पार्टीको आफ्नै एप-आधारित म्यासेजिङ प्रणालीबारे पूर्ण जानकारी छ ? यी र यस्ता मसिना तर अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरूको वस्तुनिष्ठ उत्तर खोज्दै र कमीकमजोरीहरू सच्याउँदै अघि बढ्नु नै यो अभियानको व्यावहारिक पाटो हो।

 

​समकालीन नेपाली राजनीतिमा दक्षिणपन्थी लोकरिझ्याइँको उदय एउटा नयाँ र पेचिलो चुनौतीका रूपमा देखा परेको छ। विचार र सिद्धान्तविनाको राजनीति, अर्थात् ‘नो आइडोलोजी, ओन्ली डेलिभरी’ जस्ता नाराहरू सामाजिक सञ्जालमा खुबै बिकाउ बनेका छन्। तर गम्भीरतापूर्वक विश्लेषण गर्ने हो भने संसारभरिका दक्षिणपन्थी पपुलिस्टहरूको पहिलो प्रहार सधैं वैचारिक मूल्यहरूमाथि नै हुने गर्छ। उनीहरूको मुख्य रणनीति भनेकै समाजलाई गैर-राजनीतिकरण गर्नु हो। स्थापित विचार, मूल्य र संगठनहरूको हुर्मत लिँदै ‘हामी राजनीति गर्दैनौं, केवल काम गर्छौं’ भन्ने कृत्रिम भाष्य निर्माण गरेर उनीहरू जनताको निराशालाई भावनात्मक रूपमा दोहन गर्न खोजिरहेका छन्।

 

विचारविनाको सुधार वा डेलिभरीले अन्ततः कसको स्वार्थ पूरा गर्छ भन्ने कुरा सधैं राजनीतिक र वर्गीय नै हुन्छ। विचारहीनताले समाजलाई केवल अराजकता र दिशाहीनतातर्फ लैजान्छ। एमालेभित्रै पनि चर्चित बन्ने लोभमा पार्टीको वैचारिक प्रतिरक्षा नगर्ने, सामाजिक सञ्जालको क्षणिक तालीमा रमाउने र स्थानीय तहमा जनसेवाभन्दा बढी प्रचारमुखी गतिविधिमा लिप्त हुने विचलन देखा पर्न थालेको छ। मिसन जागरणले यही प्रवृत्तिमाथि धावा बोल्दै जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा समाजलाई पुनः राजनीतिक चेतले सुसज्जित गराउनु पर्ने दायित्व बोकेको छ।

 

​आजको युग प्रविधिको युग मात्र होइन,यो त ‘डिजिटल अटेन्सन इकोनोमी’को युग हो। अहिलेको शताब्दीमा राजनीतिक लडाइँ केवल मतपेटिकामा मात्र होइन, मोबाइलको स्क्रिन र मानिसको मगजमा पनि लडिन्छ। विगतको चुनावमा धरातलीय राजनीतिमा एमाले जतिसुकै बलियो भए पनि डिजिटल दुनियाँको फिड-राजनीतिमा निकै कमजोर देखियो। प्रविधिको भाषा नबुझ्नु, ढिलो प्रतिक्रिया दिनु, सन्देशहरूलाई सरल बनाउन नसक्नु र डिसेन्ट्रलाइज्ड डिजिटल नेटवर्कको अभाव हुनु नै कमजोरी रहे। सामाजिक सञ्जालका अल्गोरिदमहरूले मानिसलाई उसको रुचिअनुसारको मात्र सामग्री देखाएर ‘इको च्याम्बर’ सिर्जना गर्छन्, जहाँ दोहोरिएका झुटहरू पनि क्रमशः साँचो लाग्न थाल्छन्।

 

त्यसैले एमालेलाई अब परम्परावादी संगठन मात्र राखेर पुग्दैन, यसलाई पूर्णतः प्रविधिमैत्री र डिजिटल सञ्जालमा आक्रामक रूपमा प्रस्तुत गर्न सक्ने शक्तिमा रूपान्तरण गर्नु आवश्यक छ। डिजिटल वार रुमहरूको निर्माण, तथ्यमा आधारित द्रुत प्रतिक्रिया टोली र पार्टी काममा स्थानीय सफलताका कथाहरूलाई डिजिटल न्यारेटिभमा बदल्नु नै यो जागरण अभियानको एउटा महत्वपूर्ण प्राविधिक-राजनीतिक पाटो हो।

 

​सांगठनिक सुदृढीकरण र आन्तरिक लोकतन्त्रको सुदृढीकरणविना पार्टीको पुनरुत्थान कल्पना गर्न सकिँदैन। कतिपय कमिटीहरूमा कार्यसूचीबेगर बैठक डाक्ने, बैठकमा सामूहिक निर्णय प्रक्रियाभन्दा पनि नेताहरूको मन्तव्य सुनेर हिँड्ने र बैठक बाहिर निस्केर आफ्नै निर्णयको निन्दा गर्ने अराजक प्रवृत्ति झाँगिएको छ। गुटबन्दी, नातावाद, कृपावाद र चाकडी गर्ने शैलीले इमानदार कार्यकर्ता पाखा लाग्ने र अवसरवादीहरू हाबी हुने खतरा सधैं रहन्छ। मिसन जागरणले स्पष्ट सन्देश दिनुपर्छ-पार्टीमा वर्षौंदेखि निष्ठापूर्वक लाइनमा बस्ने इमानदार कार्यकर्ताको पालो आउँछ र यसमा कुनै सम्झौता हुने छैन।

 

योगदान र योग्यताको आधारमा अवसरहरूको न्यायोचित वितरण हुनुपर्दछ। पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू केवल शासक होइनन्, उनीहरू पार्टीका रोल मोडल हुन्। उनीहरूको आचरण, जीवनशैली र नैतिकता जनताका नजरमा सफा हुनुपर्छ। यदि कतै भ्रष्ट, जनविरोधी वा निष्क्रिय कार्यशैली देखिन्छ भने पार्टी विधानअनुसार कारबाही गर्न हिचकिचाउनु हुँदैन। जनप्रतिनिधि र संगठनका कार्यकर्ताबीचको दूरीलाई मेटाएर घनिष्ठ र आत्मीय सम्बन्ध स्थापित गर्नु नै यो अभियानको सांगठनिक ध्येय हो।

 

​पछिल्लो समय नेपाली राजनीतिमा ‘पुस्तान्तरण’ को बहस निकै चर्को रूपमा उठ्ने गरेको छ। यसलाई कतिपयले आफूअनुकूल र केवल नेतृत्व हडप्ने हतियारका रूपमा मात्र व्याख्या गर्ने गरेका छन्। हाम्रो पार्टीको जनसांख्यिक बनोटलाई हेर्ने हो भने ४० वर्षमुनिको पुस्ताको प्रतिनिधित्व तुलनात्मक रूपमा पातलो छ भने ५० वर्षमाथिको उमेर समूहको बाहुल्यता बढी देखिन्छ। तर, पुस्तान्तरण भनेको पुरानो पुस्तालाई हुत्याएर नयाँ पुस्ता आउने मेकानिकल प्रक्रिया होइन। यो त अन्तरपुस्ता आबद्धताको एउटा जीवन्त र वैज्ञानिक पद्धति हो। पहिलो पुस्ताको समृद्ध अनुभव र अभिभावकत्वको छहारीमा दोस्रो र तेस्रो पुस्ताका सक्षम, इमानदार र लोकप्रिय युवा नेताहरूलाई नीति निर्माण र नेतृत्वको निर्णायक तहमा क्रमशः अघि बढाउनु नै यसको सही समाधान हो। ३५ वर्षमुनिका युवाहरूलाई वडा तहमा र ४० वर्षमुनिका युवाहरूलाई पालिका तहको नेतृत्वमा क्रमशः स्थापित गर्दै लैजाने नीतिलाई व्यवहारमा उतार्नुपर्छ। युवाहरूलाई पार्टीको आधारभूत शक्तिका रूपमा स्वीकार गर्दै उनीहरूलाई उद्यमशीलता र डिजिटल सहभागिताका विशेष कार्यक्रमहरूसँग जोड्नु आजको आवश्यकता हो।

 

​पार्टीभित्र र चिया पसलहरूमा समेत यतिबेला सबैभन्दा बढी बहस हुने र कार्यकर्ताको मन तरंगित बनाउने अर्को पेचिलो विषय हो-टिकट वितरण र उम्मेदवार छनोटको मापदण्ड। कस्ता व्यक्तिले चुनावी मैदानमा पार्टीको प्रतिनिधित्व गर्न पाउँछन् भन्ने कुराले नै पार्टीको धरातलीय शक्ति र जनतामा रहने विश्वसनीयता निर्धारण गर्दछ। अचेल विभिन्न दलहरूले उम्मेदवार छनोटका नाममा ‘जान्नेलाई छान्ने’, ‘युवा र समावेशी’ को नारा, ‘प्राइमरी इलेक्सन’, ‘लिडर्स एकेडेमी’ वा ‘प्रत्यक्ष भोटिङ’ जस्ता आकर्षक र कर्णप्रिय शब्दजालहरू फाल्ने गरेका छन्। तर नेकपा (एमाले) ले यसपटकको निर्वाचनका लागि उम्मेदवार छनोटमा ठोस, वस्तुपरक र जनपक्षीय मापदण्ड तय गरेको छ। लोकप्रियता, कार्यक्षमता, इमानदारी, सामाजिक स्वीकार्यता, भूगोलको स्पष्ट ज्ञान र जनसेवाको लामो इतिहास नै उम्मेदवार छनोटको मुख्य कसी बन्नुपर्छ। एउटै व्यक्ति पटक-पटक दोहोरिएर अवसरहरूमाथि एकाधिकार जमाउने र नयाँ नेतृत्वको ढोका बन्द गर्ने प्रवृत्तिलाई यसपटक एमालेले कडाइका साथ निरुत्साहित गर्न सक्नेछ ।

 

​क्षमतावान्, लोकप्रिय, स्वच्छ चरित्र र जनतामा स्थापित व्यक्तित्व हुँदाहुँदै पनि कतिपय स्थानमा एकभन्दा बढी योग्य आकांक्षीहरू देखा पर्नु स्वाभाविक हो। त्यस्तो अवस्थामा कसरी न्यायोचित र लोकतान्त्रिक ढंगले उम्मेदवार तय गर्ने भन्ने सन्दर्भमा नेपाली राजनीति र हाम्रो सांगठनिक अभ्यासमा तीनवटा प्रमुख मान्यताहरू बहसमा छन्।

 

पहिलो मान्यताअनुसार, तल्लो कमिटीको सिफारिसमा केन्द्रले सबैभन्दा उपयुक्त पात्रलाई मूल्यांकन गरेर टिकट दिने परम्परागत विधि छ। दोस्रो मान्यताले, सम्बन्धित स्थानीय वा जिल्ला एकताले सिफारिस गरेका नामहरूमध्येबाट व्यावहारिकता, जित्ने आधार र शक्ति सन्तुलन मिलाएर उम्मेदवार तोक्ने मध्यमार्गी बाटो देखाउँछ। तेस्रो र सबैभन्दा लोकतान्त्रिक मानिने विकल्प चाहिँ-जुन तहमा उम्मेदवार उठाइने हो, सोही भूगोलका पार्टी सदस्यहरूबीच आन्तरिक मतदान गराएर उम्मेदवार छनोट गर्ने प्रणाली हो। यस जागरण अभियानको अवधिभर पार्टी पंक्तिमा यी तीनवटै मान्यताका गुण र दोषबारे खुला, स्वस्थ र व्यापक विमर्श गरिनुपर्छ। कुन विधि अपनाउँदा पार्टीमा गुटबन्दी अन्त्य हुन्छ, आन्तरिक असन्तुष्टि कम हुन्छ र जनतामा सबैभन्दा लोकप्रिय सन्देश जान्छ भन्ने निष्कर्षमा पुग्न सिंगो पार्टी एकताबद्ध भएर सोच्नुपर्ने बेला आएको छ।

 

अन्त्यमा ,
​पार्टीको पुनर्जीवनका लागि अघि सारिएको “६-ज” को नीति – जनतामा जाऔं, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौं, जबजलाई अध्ययन र आत्मसात गरौं र वैज्ञानिक जनमत सर्वेक्षणका आधारमा सक्षम नेतृत्व तयार गरौं-नै मुख्य दिशादर्शक नीति हो। यो नीतिलाई प्रभावकारी रूपमा लागू गर्न ‘मिसन पार्टी जागरण’का लागि एमालेले प्रत्येक वडा र पालिका तहमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। यो अभियान केवल एउटा आन्तरिक बैठक वा छलफल मात्र होइन, यो त पार्टीका निष्कृय र असन्तुष्ट कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउने र शत्रुले फैलाएका सवै भ्रमहरूलाई खारेज गर्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने महासंकल्प हो।

 

पार्टीलाई नेतामुखी होइन जनतामुखी, व्यक्तिमुखी होइन नीतिमुखी, र जड होइन गतिशील शक्तिमा रूपान्तरण गर्नु नै यसको अन्तिम लक्ष्य हो। जब एमालेका लाखौं कार्यकर्ताहरू आत्मविश्वासका साथ गाउँ, टोल र मोबाइलका स्क्रिनहरूमा सँगसँगै क्रियाशील हुनेछन्, तब प्रतिगमनका सबै काला बादलहरू फाटेर जानेछन् र एमाले पुनः देशको निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनेछ। यो ऐतिहासिक जागरणको महायज्ञमा होमिनु र यसलाई सफल पार्नु नै आजको समयमा प्रत्येक न्यायप्रेमी र देशभक्त एमाले कार्यकर्ताको प्रमुख कर्तव्य हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...