पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई शवको पहिचान

पोखरा । नवलपरासी जिल्लामा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका थप दुई शवको शुक्रबार आफन्तले पहिचान गरेका छन्।

पहिचान हुनेमा नवलपरासी गैँडाकोटको शव नम्बर ६ मा रहेका यादव भण्डारी रहेका छन्। ३७ वर्षीय भण्डारी अध्यागमन कार्यालय टिमुरे, रसुवामा अधिकृतका रूपमा कार्यरत थिए। उनको स्थायी ठेगाना नवलपरासी सुस्ता नगरपालिका–१ रहेको छ। शवलाई उनका दाजु चुडामणि भण्डारीले पहिचान गरेका हुन्।

 

त्यस्तै, नवलपरासी देवचुलीमा फेला परेको शव नम्बर २ को पनि पहिचान भएको छ। पहिचान हुनेमा ४७ वर्षीय नारायण थापा रहेका छन्। अर्घाखाँची पाणिनी गाउँपालिका–७ निवासी थापा नीलकण्ठ माध्यमिक विद्यालय, बेत्रावतीमा अध्यापनरत थिए। उनको शव श्रीमती कमला थापाले पहिचान गरेकी हुन्।

 

यसैबीच, धादिङ जिल्लामा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको ट्याग नम्बर ७ को शव सत्यसुन्दर प्रजापतिको शव आफन्तलाई हस्तान्तरण गरिएको छ। ३६ वर्षीय प्रजापति भक्तपुर नगरपालिका–९ निवासी थिए। उनका भाइ सत्यकृष्ण प्रजापतिले शव पहिचान गरेका थिए।

 

आज साँझ ६ः३० बजेसम्मको विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५७ शवको फिगरप्रिन्ट तथा सरसफाइ, ११ शवको पोस्टमार्टम, २ शवको पहिचान र १ शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...