पोखरा । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको जनाएको छ।

संघका अध्यक्ष ठाकाराम पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भारतीय चिया बोर्डले सन् २०२५ जुन १ देखि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको उल्लेख छ। विज्ञप्तिअनुसार परीक्षणका लागि पठाइएको चियाको प्रतिवेदन महिनौंसम्म नदिने तथा सामान्य कमजोरी देखिएमा भारतीय गोदाममा पुगेको चिया नष्ट गर्ने व्यवस्था गरिएकाले नेपाली उत्पादकहरू अन्योल र समस्यामा परेका छन्।
नेपालमा उत्पादित चियामध्ये करिब ५५ देखि ९० प्रतिशत हिस्सा भारत निर्यात हुँदै आएको छ। हाल भारतका गोदाममा करिब २ लाख किलो चिया थन्किएको र निर्यातका लागि तयारी अवस्थामा रहेको १० लाख किलोभन्दा बढी चिया नेपालमै रोकिएको संघले जनाएको छ।
वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको चिया निर्यातबाट विदेशी मुद्रा आर्जनमा योगदान पुग्दै आएको उल्लेख गर्दै संघले हालसम्म ३० वटा उद्योग बन्द भइसकेको र थप उद्योगहरू बन्द हुने अवस्थामा पुगेको दाबी गरेको छ। यसबाट ७० हजारभन्दा बढी मजदुर तथा १५ हजारभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।
संघले चिया उद्योगको समस्या केवल एक क्षेत्रको नभई राष्ट्रिय उत्पादन, निर्यात, रोजगारी र विदेशी मुद्रा आर्जनसँग जोडिएको गम्भीर आर्थिक विषय भएको जनाएको छ। साथै नेपाल र भारत सरकारबीच उच्चस्तरीय कूटनीतिक पहल गरी सीमामा हुने जाँच प्रक्रियालाई सहज बनाउन, चियाको निर्बाध निकासी सुनिश्चित गर्न तथा अन्य मुलुकमा समेत निर्यात विस्तारका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ।
संघले चिया निकासीको दीर्घकालीन समाधान खोज्न नेपाल सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ।