लेनदेन विवादमा सासूमाथि ज्वाइँको चक्कु प्रहार, एक महिला घाइते

पोखरा, असार । पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिलामाथि चक्कु प्रहार भएको छ।


प्रहरीका अनुसार बुधबार अपराह्न करिब ४:११ बजे कास्कीको पोखरा–२८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेका हुन्। अधिकारीको स्थायी घर लमजुङको मध्यनेपाल नगरपालिका–२ रहेको बताइएको छ।

 

चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि पोखरा–१७ स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ।
घटनामा चक्कु प्रहार गर्ने व्यक्तिकी श्रीमती तथा घाइतेकी छोरी २८ वर्षीया सङ्गीता तिवारीको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

घटनापछि स्थानीयवासीको सहयोगमा ध्रुवराज अधिकारीलाई चक्कुसहित नियन्त्रणमा लिइएको थियो। हाल उनी वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेका छन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...