बजार अनुगमनमा तीन व्यवसायलाई कारबाही, डेढ लाख रुपैयाँ जरिवाना

पोखरा, असार ४ । कास्की जिल्ला प्रशासन कार्यालयले पोखराका विभिन्न बजार क्षेत्रमा सञ्चालन गरेको संयुक्त बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण गरेको पाइएपछि तीन व्यवसायलाई कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्ग आसपासका क्षेत्रमा अवैध वस्तुको बिक्री–वितरण भइरहेको गुनासोका आधारमा जेठ २४ र असार ३ गते संयुक्त अनुगमन गरिएको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च कास्की तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

 

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, खरिद–बिक्रीका बिल तथा बिजक उपलब्ध गराउन नसकेको, उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका वस्तु बिक्री गरेको र सरसफाइमा कमी देखिएको पाइएको प्रशासनले जनाएको छ।

 

अनुगमनका क्रममा फुड साथी, पृथ्वीचोक मा म्याद गुज्रिएको २.५ केजी मकैको पिठो, ५.५ केजी स्याउ र २ केजी मेवा फेला परेपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी जिएमसी क्याफे, पृथ्वीचोक मा समोसा, बन प्याटिज, भेज प्याटिज, चिकेन प्याटिज तथा प्रयोग गरिएको तेल नष्ट गराई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

 

यस्तै जिएमसी चमेना गृह, पृथ्वीचोक मा तीन केजी किमा तथा आठ लिटर पकाउने तेल गुणस्तर मापदण्डविपरीत रहेको भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

 

तीनै व्यवसायबाट जरिवाना रकम बैंक दाखिला भइसकेको जनाइएको छ।प्रशासनले व्यवसायीहरूलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न, नियमित सरसफाइ कायम गर्न, म्याद गुज्रिएका सामग्री सुरक्षित रूपमा नष्ट गर्न तथा खाद्य सामग्रीको उचित भण्डारण गर्न निर्देशन दिएको छ। साथै अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराउन र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गतिविधि नगर्न चेतावनीसमेत दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...