अन्नपूर्ण गाउँपालिकाकाे‌ बजेट ६५ करोड ५० लाख, शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता

पोखरा, असार १० । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा अधिकारीले बुधबार आयोजित गाउँसभामा बजेट प्रस्तुत गर्दै ‘समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्णवासी’ निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताइन्।

सार्वजनिक बजेटमध्ये चालुतर्फ ४८ करोड ५ लाख ५३ हजार रुपैयाँ अर्थात् ७३.३७ प्रतिशत र पूँजीगततर्फ १७ करोड ४४ लाख ४७ हजार रुपैयाँ अर्थात् २६.६३ प्रतिशत विनियोजन गरिएको छ।

 

गाउँपालिकाले जनताको आधारभूत आवश्यकता परिपूर्ति, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा तथा दिगो पूर्वाधार निर्माणलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

 

बजेटमा शतप्रतिशत स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ भने विद्यालयका विद्यार्थीहरूको दिवा खाजा कार्यक्रममा प्रतिविद्यार्थी थप ५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। प्रारम्भिक बालविकास (ECD) शिक्षकहरूको प्रोत्साहन तथा सेवा सुविधामा वृद्धि गर्ने नीति पनि बजेटमा समेटिएको छ।

 

त्यस्तै, पर्यटकीय गन्तव्य माछापुच्छ्रे बेसक्याम्प क्षेत्रमा उपचार सेवाको व्यवस्था, कृषकहरूलाई उत्पादनको आधारमा अनुदान, दुग्ध उत्पादक कृषकका लागि विशेष अनुदान कार्यक्रम तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि थप सेवा सुविधाको व्यवस्था गरिएको छ।

 

भौतिक पूर्वाधारतर्फ सडक, खानेपानी, सिंचाइ तथा अन्य विकास निर्माणका योजनालाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ। स्थानीय उत्पादन, रोजगारी सिर्जना र कृषि व्यवसायीकरणमार्फत ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने लक्ष्यसमेत बजेटले लिएको छ।

 

गाउँपालिकाका अनुसार जनमुखी, विकासमुखी र परिणाममुखी कार्यक्रममार्फत अन्नपूर्णलाई समृद्धिको नयाँ यात्रातर्फ अग्रसर गराउने उद्देश्यले बजेट तर्जुमा गरिएको हो। गाउँपालिकाले सार्वजनिक गरेको बजेटलाई समृद्ध अन्नपूर्ण निर्माणको बलियो आधारका रूपमा हेरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...