प्रतिकूल मौसममा फेवातालमा जलपर्यटन गतिविधि सञ्चालन नगर्न निर्देशन

पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले फेवाताल लगायत जलपर्यटन व्यवसाय सञ्चालन गर्दा सुरक्षा सावधानी अपनाउन सम्बन्धित व्यवसायी तथा सेवाग्राहीलाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचनामा ढुङ्गा, कायाकिङ तथा सफिङ बोट सञ्चालन गर्दा अनिवार्य रूपमा लाइफ ज्याकेट प्रयोग गर्नुपर्ने, सेवाग्राहीको बीमा गर्नुपर्ने, बिल बिजक उपलब्ध गराउनुपर्ने तथा प्रतिकूल मौसममा जलपर्यटन गतिविधि सञ्चालन नगर्नुपर्ने उल्लेख गरिएको छ।

सूचनामा १६ वर्षमुनिका बालबालिकालाई अभिभावकबिना जलपर्यटन गतिविधिमा सहभागी नगराउन, मादक पदार्थ सेवन गरेका व्यक्तिलाई सेवा नदिन तथा दुर्घटना भए तत्काल उद्धार र उपचारको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ। प्रशासनले पूर्वस्वीकृत क्षमताभन्दा बढी यात्रु नचढाउन र साँझ ६ बजापछि यस्ता गतिविधि बन्द गर्न आग्रह गरेको छ।

 

यसैबीच, प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाको टोलीले फेवातालमा अनुगमनलाई तीव्र बनाएको छ। टोलीले तालमा सञ्चालन भइरहेका ढुङ्गा तथा जलपर्यटन व्यवसायको स्थलगत निरीक्षण गर्दै सुरक्षा मापदण्डको पालना भए/नभएको अनुगमन गरेको हो।

 

प्रशासनले सूचनाविपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। फेवातालमा सुरक्षित, व्यवस्थित र जिम्मेवार जलपर्यटन प्रवर्द्धनका लागि सबै पक्षलाई सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...