पोखरा, असार १४ – एचआईभी/एड्सका कारण हुने लाञ्छना तथा विभेद न्यूनीकरण गर्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा अन्य जोखिम समूहका लागि पोखरा महानगरपालिका–७ मा अन्तरक्रिया एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पोखरा महानगरपालिका–७ का वडा अध्यक्ष राममोहन आचार्य ले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सचेतनामूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रादेशिक जनस्वास्थ्य केन्द्र, कास्कीका क्षयरोग, कुष्ठरोग तथा एचआईभी फोकल पर्सन लक्ष्मण बसौलाले एचआईभीको परिचय, वर्तमान अवस्था, रोकथाम तथा उपचार रणनीतिबारे प्रस्तुति दिएका थिए। उनले सन् १९८१ मा पहिलो पटक एचआईभी संक्रमण पहिचान भएको उल्लेख गर्दै हालसम्म विश्वभर करिब ९ करोडभन्दा बढी मानिस संक्रमित भइसकेको जानकारी दिए। समयमै परीक्षण, नियमित उपचार, सुरक्षित व्यवहार तथा संक्रमितप्रति हुने लाञ्छना र विभेद अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक रञ्जना कुँवर ले एचआईभी संक्रमित व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने, उनीहरूको कानुनी अधिकारको संरक्षण गर्नुपर्ने तथा विभेदविरुद्ध सबै निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिइन्।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिना ले सहभागीलाई स्वागत गर्दै एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले स्थानीय तह, सञ्चारकर्मी, सुरक्षा निकाय तथा समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रादेशिक जनस्वास्थ्य केन्द्र को आयोजनामा तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र पोखरा महानगरपालिका वडा नं. ७ को समन्वय/सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।