पोखरा, साउन १२ । नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनअन्तर्गत कास्कीका १३ अस्पतालले मंगलबार बेलुका ७ बजेदेखि आफ्नो ओपीडी (बहिरङ्ग) सेवा बन्द गरेका छन्।
नेपाल चिकित्सक संघका अनुसार साउन १० गते झापाको बिर्तामोडस्थित सर्पदंशी अस्पतालमा भएको तोडफोड तथा अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि गालीगलौज र दुर्व्यवहार भएको घटनाको विरोधस्वरूप उक्त निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कास्की (DEOC Kaski) ले जारी गरेको सूचनाअनुसार हालका लागि ओपीडी सेवा मात्र बन्द गरिएको हो। अन्य स्वास्थ्य सेवाबारे सम्बन्धित अस्पतालले आवश्यक जानकारी पछि सार्वजनिक गर्ने जनाइएको छ।
ओपीडी सेवा बन्द भएका अस्पतालहरूमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल, फेवा सिटी अस्पताल, शिशुवा अस्पताल, मणिपाल शिक्षण अस्पताल, पोखरा शिक्षण अस्पताल, मेट्रोसिटी अस्पताल, फिस्टेल अस्पताल, साहारा अस्पताल, पद्मा श्री अस्पताल, पद्म नर्सिङ होम र मातृशिशु अस्पताल रहेका छन्।
चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा दोषीमाथि कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दै आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ।