पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले आर्थिक वर्ष २०८१/०८२ का लागि विभिन्न विधामा गरेको पदक वितरण प्रक्रियाका सम्बन्धमा सार्वजनिक भएका समाचार तथा उठेका प्रश्नप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
मञ्चले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गण्डकी प्रदेशको प्रतिष्ठा र गरिमासँग जोडिएको पदक वितरण कार्यक्रम निष्पक्ष, पारदर्शी, मर्यादित र विवादरहित हुनुपर्ने अपेक्षा गरिएको जनाएको छ । तर सार्वजनिक विवरणअनुसार कार्यक्रम अपेक्षाअनुसार नभएको र विशेषगरी पदक सिफारिस प्रक्रियामा संलग्न व्यक्तिहरू नै पुरस्कृत भएको भन्ने आरोप सार्वजनिक हुनु गम्भीर तथा खेलकुदको मूल्य–मान्यताविपरीत भएको मञ्चको भनाइ छ ।
मञ्चले खेलकुद अनुशासन, निष्पक्षता, इमानदारी र नैतिकताको शिक्षा दिने क्षेत्र भएकाले यसका मूल्य–मान्यताको संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट विधि, प्रक्रिया र नैतिकताको उल्लङ्घन भएको देखिनु समग्र खेलकुद क्षेत्रकै लागि दुःखद र लज्जास्पद विषय भएको जनाएको छ ।
मञ्चका अनुसार यस्ता घटनाले खेलाडीको मनोबल, खेल क्षेत्रको विकास तथा संस्थागत सुशासनमा प्रतिकूल असर पार्नुका साथै खेलकुदप्रति आम नागरिकको विश्वास कमजोर बनाउने खतरा रहन्छ । त्यसैले खेल क्षेत्रको नेतृत्व तहबाट उच्च नैतिक आचरणको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सार्वजनिक रूपमा उठेका विषयलाई गम्भीरतापूर्वक छानबिन गर्न तथा पदक वितरण प्रक्रियामा संलग्न सम्बन्धित समिति र जिम्मेवार पदाधिकारीलाई आफ्नो नैतिक जिम्मेवारी वहन गर्दै गल्ती सच्याउन आग्रह गरेको छ ।
त्यस्तै, सम्बन्धित सरोकारवाला निकाय तथा राज्यका जिम्मेवार निकायले निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न, दोषी देखिएका व्यक्तिमाथि कानुन तथा प्रचलित मापदण्डअनुसार आवश्यक कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था मिलाउन मञ्चले जोडदार माग गरेको छ ।
मञ्चले आफू सधैँ स्वच्छ, पारदर्शी, उत्तरदायी र मर्यादित खेल संस्कृतिको पक्षमा रहेको स्पष्ट गर्दै खेलकुद क्षेत्रको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले जारी गरेको विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो ।