पाेखरा । पोखरा–२५ याम्दीमा खोलाले बगाएर बेपत्ता भएको स्कुटर करिब १०० मिटर तल फेला पारिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार राति करिब ११ः४५ बजे पोखरा–२५ याम्दीको पुरानो बाटो हुँदै प्याङगोइन सुईज पुलतर्फ जाने क्रममा ग २३ प ६३२९ नम्बरको निलो–सेतो रंगको स्कुटर याम्दी खोलाले बगाएको थियो।
स्कुटर पोखरा–७ रत्नचोक बस्ने २६ वर्षीय सुवास रसाइलीले चलाएका थिए। स्कुटरका धनी पोखरा–२५ याम्दीका अविज खत्री हुन्। घटनाको जानकारी शुक्रबार बिहान करिब १० बजे प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
स्कुटर चालक सुवास रसाइली भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार दिउँसो १२ः२० बजे बगाएको स्थानबाट करिब १०० मिटर तल पोखरा–२५ हेम्जा याम्दी खोलाको पानीमा डुबेको अवस्थामा स्कुटर फेला पारेको हो। स्कुटरलाई उद्धार गरी बाहिर निकालिएको प्रहरीले जनाएको छ।
स्कुटरको भाइजर, ब्रेकलगायतका पार्टपुर्जामा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।