पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालक बगेर बेपत्ता भएका छन्।

शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ आउने क्रममा करिब १४/१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) कास्कीले जनाएको छ।
बेपत्ता बालकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारका लागि घटनास्थलमा पुगेको छ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमान्डमा ७ जना र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जना प्रहरी परिचालन गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमान्डमा ९ जनाको गोताखोर टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन भएको छ।
टोलीले विजयपुर खोलामा बेपत्ता बालकको खोजी गर्नुका साथै घटनाबारे थप जानकारी संकलन गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ।बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।