पोखरा । अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटी क्षेत्रमा मोदीखोलामा आएको बाढीले सडक, विद्युत्, बस्ती तथा व्यवसायमा ठूलो क्षति पुर्याएको छ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का विभिन्न बस्ती तथा पर्वतका केही गाउँ हुँदै म्याग्दी र मुस्ताङ जोड्ने सडक अवरुद्ध भएको छ। मुख्य सडकमा क्षति पुगेपछि ढुवानी सेवा प्रभावित हुनुका साथै स्थानीयको आवागमनसमेत रोकिएको छ।
बाढीले बस्ती, घर तथा होटलमा क्षति पुर्याएको र विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको तमु धिं नेपालले जनाएको छ। सडक तथा विद्युत् सेवा प्रभावित हुँदा अन्नपूर्ण क्षेत्रका पर्यटकीय गाउँहरूमा समेत प्रत्यक्ष असर परेको छ।
बिरेठाँटी, चिम्रुङ, स्याउली बजार, साँधीखोला, दाङसिङ, मोहोरिया, तमु, गैरीबाङ, आङबाङ, साक्र्यु, तिखेढुंगा, सुदामे, मौजा, उल्लेरी, आनन्दडाँटी, घान्द्रुक, चाने, घान्द्रुक बेँसी, छोम्रोङ, टाडापानी, देउराली, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्पलगायतका क्षेत्रमा बाढीको असर परेको छ। म्याग्दीको पुनहिल क्षेत्रसमेत प्रभावित भएको जनाइएको छ।
अविरल वर्षा अझै भइरहेकाले प्रभावित क्षेत्र थप जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी तथा पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष श्याम गुरुङ, कास्की जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर गुरुङ र केन्द्रीय समितिका अध्यक्ष हुमबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःनिर्माणको काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
उनीहरूले बाढीबाट पर्यटन, व्यवसाय र स्थानीयको बसोबासमा दीर्घकालीन असर पर्न सक्ने भन्दै नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई तत्काल अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
साथै विभिन्न संघसंस्था, स्थानीयवासी तथा देश–विदेशमा रहेका शुभेच्छुकलाई प्रभावित क्षेत्रका नागरिकको सहयोगमा जुट्नसमेत आह्वान गरिएको छ। विपद्को समयमा स्थानीय सरकार, प्रभावित वडाका जनप्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको उद्धार तथा सहयोगप्रति तमु धिं नेपालले धन्यवाद व्यक्त गरेको छ।