गण्डकी खेलकुद पदक विवाद : दुई कार्यकारी सदस्य भेनिस र कञ्चनको स्पष्टीकरण : उपस्थितिका क्रममा हस्ताक्षर गरेका हौ तर पदकसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छैनौं, ‘जिम्मेवारी हामी लिँदैनौँ’

एकराज गिरी/पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को पदक वितरणसम्बन्धी विवादमा परिषद्का कार्यकारिणी सदस्य भेनिस थापा र कञ्चन थापा कोइरालाले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

 

पदक वितरणमा गम्भीर त्रुटि, लापरबाही तथा प्रक्रियागत कमजोरी भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन बुझाएपछि उनीहरूले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनीहरूले पदक खेलाडीको मेहनत, प्रदेश र राष्ट्रको गौरवसँग जोडिएको विषय भएकाले यसको वितरण विधि, प्रक्रिया, मापदण्ड र संस्थागत निर्णयअनुसार हुनुपर्ने बताएका छन् ।

 

छानबिन समितिको प्रतिवेदनमा पदक वितरणमा गम्भीर त्रुटि, लापरबाही तथा प्रक्रियागत कमजोरी भएको निष्कर्ष निकालिएको सन्दर्भमा आफूहरू पदक वितरणसम्बन्धी निर्णय वा कार्यान्वयनमा संलग्न नरहेको उनीहरूको दाबी छ ।

 

पदक सिफारिस समितिबाट सिफारिस भएर आएको भन्दै बैठकमा प्रस्ताव प्रस्तुत भएपछि आफूहरूले उपस्थितिका क्रममा हस्ताक्षर गरेको तर पदकसम्बन्धी निर्णयमा आफ्नो हस्ताक्षर नरहेको उनीहरूले स्पष्ट पारेका छन् ।

 

उपस्थितिमा गरिएको हस्ताक्षरलाई पदक वितरणसम्बन्धी निर्णयमा आफ्नो सहमति वा स्वीकृति रहेको रूपमा व्याख्या गर्नु तथ्यसम्मत नभएको विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित कार्यविधि, मापदण्ड र प्रक्रियाअनुसार सिफारिस वा निर्णय कार्यान्वयन गर्ने पदाधिकारीले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने भन्दै उनीहरूले आफ्नो जानकारी वा सहमतिबिना भएका निर्णयको जिम्मेवारी आफूहरूले नलिने बताएका छन् ।

 

छानबिन प्रतिवेदनका आधारमा घटनाको सत्यतथ्य निष्पक्ष रूपमा परीक्षण गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र आफूहरूमाथि लागेको दोषारोपणबाट मुक्त गर्न उनीहरूले सरकारसमक्ष आग्रह गरेका छन् ।

 

आवश्यक परे आफूहरूको असहमति, सम्बन्धित कागजात तथा तथ्य प्रमाण सम्बन्धित निकायमा प्रस्तुत गर्न तयार रहेको पनि उनीहरूले बताएका छन् ।

 

पदक विवाद बारे छानबिनका लागि गठित समितिले प्रतिवेदन सरकारलाई बुझाएकाे छ ।सामाजिक युबा तथा खेलकुद मन्त्रालयका सचिब शेषनारायण पाैडेलकाे संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियाे ।समितिले सामाजिक युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई ८९ पेजकाे प्रतिवेदन बुझाएको हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...