एकराज गिरी / पोखरा । वर्षौंदेखि पोखरेली खेलप्रेमीले देख्दै आएको एउटा सपना अब पूरा हुने बाटोमा अघि बढेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा फ्लडलाइट जडान गरी साँझ तथा रातिको समयमा समेत फुटबल खेल हेर्ने र खेलाउने वातावरण बन्ने सम्भावना बलियो बनेको छ।

फ्लडलाइट जडानका लागि बजेट सुनिश्चित हुनु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण देखिएको प्राविधिक चुनौती समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले स्थलगत अध्ययन थालेसँगै पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रातिको समयमा सञ्चालन गर्न सकिने विश्वास बढेको हो।
चालु आर्थिक वर्ष २०८३/८४ मा पोखरा रंगशालाको फुटबल मैदानमा फ्लडलाइट जडानका लागि मात्रै ८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५ करोड र संघीय शहरी विकास तथा भवन निर्माण विभागले ३ करोड रुपैयाँ छुट्याएका छन्।
तर फ्लडलाइट निर्माणका लागि विनियोजित रकम मात्र पर्याप्त हुने देखिँदैन। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार फ्लडलाइट जडानमा करिब १६ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ। अपुग रकम संघ सरकार, राखेप र संघीय शहरी विकास तथा भवन निर्माण विभागबाट व्यवस्थापन हुने अपेक्षा गरिएको उनले बताए।
“विगतमा पनि बजेट विनियोजन भएको थियो, तर अन्तर्राष्ट्रिय विमानस्थललाई देखाउँदै कार्यान्वयन हुन सकेन,” गुरुङले भने, “अहिले बजेट छ, जसरी भए पनि काम गर्नुपर्नेछ। विमानस्थलले प्राविधिक अध्ययन गरेर सहमति दिएपछि प्रक्रिया अगाडि बढ्छ। बजेट अपुग भए शहरी विकास र राखेपले व्यवस्थापन गर्ने विश्वास छ।”
१५ मिटरको उचाइ मुख्य चुनौती
पोखरा रंगशालामा फ्लडलाइट जडान गर्नु अन्य रंगशालामा जस्तो सहज छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले फ्लडलाइटका टावरको उचाइमा हवाई सुरक्षा मापदण्ड लागू हुने भएकाले यसको प्राविधिक पक्ष चुनौतीपूर्ण बनेको हो।
सामान्यतया फ्लडलाइट जडानका लागि करिब ३५ मिटर अग्ला संरचना आवश्यक पर्ने संघीय शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। तर विमानस्थलको मापदण्डका कारण रंगशालामा ग्राउन्ड लेभलबाट १५ मिटरभन्दा माथि संरचना निर्माण गर्न सकिने अवस्था नरहेको बताइएको छ।
यद्यपि नयाँ प्रविधिको प्रयोगबाट कम उचाइमै मैदानभर पर्याप्त प्रकाश पुर्याउन सकिने भएकाले समस्या समाधान हुने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले बताए।
“नयाँ–नयाँ प्रविधि पनि आइसकेका छन्। त्यसैले खासै समस्या हुँदैन भन्ने हाम्रो बुझाइ छ,” नेपालीले भने, “विमानस्थलको प्राविधिक टोलीले गरेको अध्ययनपछि वास्तविक अवस्था थाहा हुन्छ।”
कम उचाइबाटै पर्याप्त प्रकाश दिन सक्ने प्रविधि प्रयोग गर्दा परम्परागत फ्लडलाइट प्रणालीभन्दा लागत बढी पर्ने अनुमान गरिएको छ। त्यसैले संघीय शहरी विकास तथा भवन निर्माण विभागतर्फ विनियोजित ३ करोड रुपैयाँ अपुग हुन सक्ने देखिएको छ।
हाल विनियोजित बजेटबाट काम सुरु गर्ने र आवश्यक परे आयोजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी रहेको नेपालीले बताए।
क्यानको प्राविधिक अध्ययनपछि उचाइ टुंगो लाग्ने
फ्लडलाइटको उचाइ कति हुने भन्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक अध्ययन निर्णायक हुने भएको छ।
फ्लडलाइटका लागि आवश्यक उचाइ र त्यसले विमानस्थलको सञ्चालनमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न क्यानका इन्जिनियर कृष्ण पौडेलले बिहीबार पोखरा रंगशालाको स्थलगत अवलोकन गरेका छन्।
अवलोकनपछि प्राविधिक विश्लेषण गरेर रंगशाला क्षेत्रमा अधिकतम कति उचाइसम्म फ्लडलाइट राख्न सकिन्छ भन्ने निर्णय गरिने पौडेलले बताए।
“रंगशालाका लागि फ्लडलाइट राख्न कति उचाइ आवश्यक छ र त्यसले एयरपोर्टलाई असर गर्छ कि गर्दैन भन्ने प्राविधिक विश्लेषणपछि हामी निर्णयमा पुग्छौँ,” उनले भने।
विमानस्थलतर्फबाट हाल १५ मिटरसम्मको उचाइका विषयमा सकारात्मक संकेत आएको बताइएको छ। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष गुरुङका अनुसार फ्लडलाइटका लागि कम्तीमा १८ देखि २० मिटर उचाइ आवश्यक पर्न सक्छ।
तर कम उचाइमै पर्याप्त प्रकाश दिन सक्ने प्रविधि उपलब्ध भएकाले विमानस्थलको उचाइ सीमाले फ्लडलाइट योजनालाई रोक्न नसक्ने उनको विश्वास छ।
दशैंलगत्तै टेन्डरको तयारी
फ्लडलाइट निर्माणको प्रक्रिया दशैंलगत्तै टेन्डरमा लैजाने तयारी गरिएको छ। क्यानबाट आवश्यक अनुमति प्राप्त भएपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर आह्वान गर्ने तयारी रहेको अध्यक्ष गुरुङले बताए।
बजेट छुट्टिइसकेकाले अब कुनै पनि कारणले आयोजना रोक्न नहुने उनको भनाइ छ।“अहिले फ्लडलाइटको बजेट गुम्न नदिने र कुनै कारणले काम रोक्ने पक्षमा हामी छैनौँ,” गुरुङले भने।
१९ करोडको बजेट, प्राथमिकतामा फ्लडलाइट
पोखरा रंगशालाको समग्र स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। त्यसमध्ये ८ करोड रुपैयाँ फ्लडलाइटका लागि खर्च गर्ने तयारी छ।
बाँकी रकम रंगशालास्थित क्रिकेट भवनको स्तरोन्नति तथा बहुउद्देश्यीय कभर्ड हलको सुधारमा खर्च गर्ने योजना रहेको गुरुङले बताए।
बहुउद्देश्यीय भवन निर्माणका लागि समेत बजेट विनियोजन भए पनि रंगशालामा नयाँ भवन निर्माण गर्ने पर्याप्त ठाउँ नरहेकाले हाल सञ्चालनमा रहेको बहुउद्देश्यीय भवनकै स्तरोन्नतिमा रकम उपयोग गर्ने तयारी गरिएको छ।
रातिको फुटबलले बदल्नेछ रंगशालाको स्वरूप
पोखरा रंगशालाको फुटबल मैदान फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने पूर्वाधार भए पनि फ्लडलाइटको अभावमा मैदानको उपयोग दिनको समयमै सीमित हुँदै आएको छ।
फ्लडलाइट जडान भएपछि साँझ तथा रातिको समयमा समेत नियमित खेल, प्रशिक्षण र ठूला प्रतियोगिता सञ्चालन गर्न सकिनेछ। दर्शकले कार्यालय तथा दैनिक काम सकेपछि खेल हेर्न पाउने भएकाले फुटबलप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
रातिको समयमा प्रतियोगिता सञ्चालन हुन थाले पोखरा रंगशाला थप चलायमान बन्नेछ। पोखरा पर्यटकीय शहर भएकाले रातिको फुटबलले खेल पर्यटनमा समेत नयाँ सम्भावना सिर्जना गर्ने खेल क्षेत्रका सरोकारवालाको विश्वास छ।